नेपालगन्ज – बालबालिकालाई अवैध क्रियाकलापमा प्रयोग भैरहेको प्रति चिन्ता व्यक्त गरिएको छ । मंगलबार नगर स्तरीय बाल क्लब सञ्जालले आयोजना गरेको बालबालिकाको अवस्था, चुनौति, र अवसर विषयक संवाद कार्यक्रमका वक्ताहरुले बालबालिकाहरुको अवैध कार्यमा प्रयोग भैरहेको प्रति चिन्ता गरिएको हो ।
कार्यक्रममा बोल्दै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले अपराधिक कार्यमा संलग्नहरुले बालबालिकालाई गलत काममा लगाउने गरेको पाइएको बताएका थिए । लागुऔषध ओसारपोसार, चोरी लगायतका घटनामा बालबालिका फेला पर्ने गरेका छन् ।
नगर अध्यक्ष अंकित मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख डा. धवल समशेर राणाले बालबालिकाको अवस्था परिवर्तन आउँदै गएको बताएका थिए । उनले बालअधिकारका सम्बन्धमा जनचेतना जगाउन बालक्लबहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बालबालिका सही बाटोमा लगाउने जिम्मेवारी अभिभावक र समाजको भएको धारणा राखेका थिए । ‘बालबालिका काँचो माटो हुन् उनीहरुलाई सही बाटोमा लग्ने जिम्मेवारी समाज र अभिभावकको हो’, उनले भने ।