नेपालगन्ज – गौ बध भैरहेको भन्दै गौ रक्षाका लागि विभिन्न हिन्दु सनातनी संस्थाहरुले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का मार्फत गृह मन्त्रालय, प्रदेश मुख्यमन्त्री, जिल्ला प्रहरी लगायतलाई बुझाइएको ज्ञापनपत्रमा चार बुंदे माग राखिएको छ ।
बाँकेको एउटा गाउँमा गौ बध गरिएको र त्यसमा संलग्नलाई पक्राउ समेत गरेको घटना बाहिर आएपछि नेपाल आर्य समाज, नेपाल शिव सेना, विश्व वैदिक सनातन धर्म सभा, हिन्दु स्वयंसेवक संघ र पतञ्जली योगपीठ बाँकेले स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले कुनै पनि बहानामा अपराधीलाई नजोगाउन माग गर्दै अपराधको छानबिन तथा फरार अपराधीलाई पक्राउ गर्न माग गरेका छन् ।
‘गौ रक्षाका लागि सरकारको ध्यान पुगोस् भन्नका लागि ज्ञापनपत्र बुझाइएको हो’, शिव सेनाका नेता दिपक लोधले दैनिक नेपालगन्जसँग भने, ‘गौ बधका अपराधीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन ढिलो गरिनु हुँदैन ।’