आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पुजा गरिंदै

नेपालगन्ज – नेपालीहरुको महान चाड बडा दशैंको पहिलो दिन सबैले घरघरमा घटस्थापना गरी दशैं शुभारम्भ भएको छ । नेपालगन्जको शक्तिपिठ बागेश्वरी मन्दिरमा दशैंको पहिलो दिन बिहानैदेखि भक्तजनहरुको भिड लागेको थियो ।

बागेश्वरी मन्दिरमा शैलपुत्री देवीको पूजा आराधना गर्नुका साथै घरमा जमरा राखी घटस्थापना गरिएको छ । बागेश्वरी मन्दिरमा शतचण्डी महायज्ञको शुभारम्भ भएको शतचण्डी महायज्ञ सञ्चालक समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । वैश्यका अनुसार, घटस्थापना संगै सुरु भएको शतचण्डी महायज्ञ ९ दिन सम्म चल्ने छ । दशैलाई मध्यनजर गर्दै बागेश्वरी मन्दिर सिंगारिएर रंगिचंगी बनाइएको छ ।

बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, नेपालगन्ज उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा शतचण्डि महायज्ञ सञ्चालक समितिका अध्यक्ष नन्दलाल वैश्य लगायतको सहभागितामा ९ कन्याको पुजा पनि गरिएको थियो । शतचण्डि पाठ, यज्ञ पुजा तथा व्रहामण पुजा पनि गरिएको थियो ।

शतचण्डि महायज्ञका लागि ९ दिन सम्मका लागि १३ जना पण्डितको व्यवस्था गरिएको सञ्चालन समितिका अध्यक्ष नन्दलाल वैश्यले दैनिक नेपालगनजलाई बताए । वैश्यका अनुसार, पहिल्यै देखि हरेक वर्ष सञ्चालन हुने शतचण्डि महायज्ञ सञ्चालन समितिका अध्यक्ष मोहनलाल वैश्यको स्वर्गवास भएपछि बिचमा एक वर्ष रोकिएको थियो । यस वर्ष गुठी व्यवस्थापन समितिले नन्दलाल वैश्यलाई समितिको अध्यक्षको जिम्मेवारी दिएपछि निरन्तरता दिएको वैश्यले बताए ।

दशैको पहिलो दिन बिभिन्न नागरिक समाजका प्रतिनिधिहरुले बागेश्वरी मन्दिरमा स्वयंसेवा समेत गरेका थिए । मन्दिरको सरसफाइ र मन्दिर सिंगार्ने काममा नागरिक समाजका प्रतिनिधिहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया