नेपालगन्ज – मेरो टुकी प्रज्ञालय, पूर्व प्राथमिक विद्यालयले दशैंको पहिलो दिन विद्यालयमै घटस्थापना गरी मनाएको छ । कार्यक्रममा दूर्गा पूजन, श्लोक पाठ, पूजाअर्चना गरी शिक्षिकाहरू तथा विद्यार्थीले जमरा राखेका थिए ।
कार्यक्रममा बालबालिकालाई सामूहिक र एक्लाएक्लै जमरा राख्न पनि सिकाइएको थियो । बालबालिकाहरूलाई घटस्थापनाको सांस्कृतिक सुन्दरता र परम्पराबारे प्रयोगात्मक शिक्षण गर्न र मौलिक संस्कृतिप्रति सानै उमेरबाट बाल मस्तिष्कमा सकारात्मक छवि बनोस् भनेर विधिविधानसहित पूजा गरी जमरा राखिएको प्रिन्सिपल तथा प्रज्ञालयकी संचालिका कल्पना खड्काले बताइन् ।
‘हाम्रो उद्देश्य बालबालिकालाई चाडपर्वको औपचारिक जानकारी दिनु र चाडको अभिनय गर्नु मात्र होइन, बालबालिकालाई राम्रा परम्पराप्रति समर्पित र कर्तव्यपरायण बनाउनु हो’ उनले भनिन्,‘प्रज्ञालयमा सांस्कृतिक परम्परालाई बालबालिकाकै सहभागितामा हुबहु अनुकरण गर्ने प्रयास गरिन्छ ।’ यसका लागि सकेसम्म पर्वकै दिन सो पर्व मनाउने गरेको पनि उनले बताइन् । उनले भनिन्,‘अवसरकै दिन मनाउँदा मौलिकता रहन्छ र अभिनयजस्तो देखिँदैन ।
विद्यालय बालबालिकाको समग्र जीवन बनाउने थलो भएको र यही समाजमा उसले जीवन निर्वाह गर्नुपर्ने भएकोले सामाजिक जीवनका हरेक पक्ष विद्यालयले नै सिकाउनुपर्ने खड्काको भनाइ थियो ।