बुटवल – प्रदेश नं ५ को प्रदेशसभाले करीब २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१ देखि प्रदेशसभा सुरु भएको थियो । पारित भएका विधेयकमध्ये १० विधेयक प्रदेशसभाको चौथो (वर्षे) अधिवेशनले पारित गरेको प्रदेश नं ५ को प्रदेश सचिवलायका सूचना अधिकारी मनोज पाण्डेयले जानकारी दिएका छन् । प्रदेशसभाको पारित भएका सबै विधेयक प्रमाणीकरणसमेत भइसकेको छ ।
प्रदेशसभाले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६, प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६, आर्थिक वर्ष २०७६÷७७ को सेवा र कार्यहरुको लागि प्रदेश ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्राइभेट फार्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।
त्यस्तै साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभाको चौथो अधिवेशनले पारित गरेको छ । यस अवधिमा ३२ पटक बैठक बसेको थियो । प्रदेश नं ५ को प्रदेशसभाले यसअघि पहिलो अधिवेशनमा चार, दोस्रोमा ११ र तेस्रोमा २३ विधेयक पारित गरेको थियो ।