नेपालगन्ज – सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) बाँकेले आफ्नो कार्यालय गठनको निर्णय गरेको छ । पार्टी अध्यक्ष आइपी खरेलको अध्यक्षतामा बसेको पहिलो पूर्ण बैठकले कार्यालय गठनको निर्णय गरेको हो ।
‘अब नियमित रुपमा कार्यालय सञ्चालनको व्यवस्थापन हुनेछ’, पार्टी सचिव अशोक कोइरालाले बैठकपछि दैनिक नेपालगन्जसँग भने, ‘कार्यालय सञ्चालनपछि धेरै कुराको व्यवस्थापन मिल्दै जानेछ ।’
सचिव कोइरालाका अनुसार, पार्टी अध्यक्ष खरेलको नेतृत्वमा सचिव कोइराला, नगर अध्यक्ष डिल्ली बराल, नेता निरक गुरुङ्ग, रत्न खत्री, प्रमोद धिताल र सब्बिर खान कार्यालयमा छन् । त्यस्तै, पदम धिताल, अशोक कर्माचार्य, अब्दुल हुसेन खाँ, रेणुका खड्का, दिपेन्द्र झा र अबराज खड्कालाई आमन्त्रित सदस्यका रुपमा निर्णय गरेको बैठकले आगामी कार्तिक २ गते बृहत प्रशिक्षणको निर्णय गरेको छ । ‘स्थानीय तहमा पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिलाई बृहत प्रशिक्षणमा सहभागी गराइने छ’, नेकपाका सचिव कोइरालाले भने ।
बैठक उद्घाटन गर्दै नेकपाका प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको सरकारले गरेका काम, कारवाही र गतिविधिलाई सकारात्मक रुपमा प्रस्तुत गर्न नसकिएको टिप्पणी गरे । ‘आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगिसकेको छ, मुलुकको समग्र विकासका लागि यो एउटा गतिलो सूचक हो’, मुख्यमन्त्री पोखरेलले बैठक उद्घाटन गर्दै भने, ‘यो कुरालाई लिएर निरन्तर जनतामाझ पुग्नुस्, पार्टी संगठनलाई जनतासँग जोड्नुस् ।’
एकता प्रक्रियासँगै निकै ढिलो गरी पार्टीको जिल्ला कमिटि बैठक भएको भन्दै आलोचना भैरहँदा भएको पहिलो पूर्ण बैठकपछि नेकपाको बाँकेले अब गति लिने विश्वास कार्यकर्ताहरुको छ । ‘संगठनले अब आफुलाई गति दिने कुरामा विश्वस्त छौं’, बैठक पछि नेता भीम वलीले दैनिक नेपालगन्जसँग भने ।
पार्टी जिल्ला बाँके अध्यक्ष आइपी खरेलले विभिन्न पर्वलाई लक्षित गर्दै स्थानीय तहले वडास्तरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै, सचिवालय, विभाग लगायतका विषयलाई नवगठित कार्यालयले टुङ्ग्याउने पनि अध्यक्ष खरेलले जानकारी दिए ।