नेपालगन्ज – राप्तीपारी नरैनापुर गाउँपालिकमा सम्वादका लागि समन्वयात्मक वैठक गरिएको छ । सम्वाद सहयोगी समूह नरैनापुरको संयोजनमा सम्वाद समूह बाँकले जनप्रतिनीधी लगायत सरोकार पक्षसँग आवश्यक समन्वय र सहकार्यका लागि समन्वयात्मक वैठक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
विवाद र द्वन्द्व रुपान्तरणमा क्रियाशिल सम्वाद समूह बाँकेले नरैनापुरमा सहयोगी समूह गठन गरेर सो क्षेत्रमा हुन सक्ने सम्भावित विवाद, द्वन्द्व र जनसरोकारका सवालमा सहजीकरण गर्दै आइरहेको छ । शान्ति सुरक्षा, सदभाव, सुशासन कायम र विकास निर्माणमा समेत सम्वाद प्रक्रिया बढाउदै आइरहेको समूहले बुधबार नरैनापुरस्थित जनप्रतिनिधि, कर्मचारी, सुरक्षा अधिकृत, विद्यालयका प्रअ, मदरसाका शिक्षकबीच व्यापक परामर्श गरेको हो ।
नरैनापुर गाउँपलिकाका प्रमुख मो. इस्तियाक अकमद शाहलको विशेष उपस्थितीमा सम्वाद, सम्वादको आवश्यकता, समन्वय र सहकार्यको विविध पाटोका बारे प्रकाश पार्दै हातेमालोको प्रतिवद्धता व्यक्त गरिएको छ । सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले कार्यक्रमको सहजीकरण गर्दै सम्वाद संस्कृतीको निर्माणले मात्र सुशासन कायम हुन सक्ने भएकाले आपसी समन्वय र सहकार्यको आवश्यक्तामा जोड दिए । नरैनापुर गाउँपालिकाका प्रमुख शाहले शान्ति, सदभाव र विकास निर्माणलाई प्राथमिकता दिइए पनि अशिक्षाले अपेक्षाकृत काम गर्न नसकिएको बताए । संवादको संस्कृति निर्माणका लागि स्थानीय सरकार सदैव तयार रहेको भन्दै उनले सबै पक्षसँग समन्वय र सहकार्य गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।
यस्तै नरैनापुर वडा न ३ का अध्यक्ष राजकुमार मौर्य, महेन्द्र मावि मटेहीयाका प्रधानाध्यापक सन्तोष तिवारी, आधारभुत विद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादव, वडा न ५ र ६ का सचिव जीवनलाल यादव लगायतले तल्लो तह सम्म सम्वादको विस्तार तथा बातावरण सिर्जना गर्नु पर्ने आवश्यक्ता औल्याए । सम्वाद सहयोगी समूह सदस्य टिका चन्दद्धारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन सदस्य एवं सह सहजकर्ता मकबुल मुकेरीले गरेका थिए ।
नेपालगन्जको सदरलाइन सडक विस्तार, हुलाकी राजमार्ग निर्माणमा देखिएको अवरोध, मनीकापुर गायत्रीनगरको वस्ती व्यवस्थापन आदि सम्वाद समूहकै सहजीकरणमा सहज बनाइएको हो । स्थानीय तहदेखि राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाउन, सहज सर्वसुलभ सेवा प्रवाह गर्न, राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराउन र सुशासनको सुखद अनुभुति दिलाउन पनि सम्वाद प्रक्रिया र सम्वाद संस्कृतिको आवश्यकता बढ्दै गएको छ ।