नेपालगन्ज – अदालतबाट सजाय तोकिएका फरार अपराधीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले धमाधम पक्राउ गर्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर वलीले गत असारदेखि २१ जना अदालतबाट सजाय तोकिएका फरारलाई पक्राउ गरेको जानकारी दिएका छन् ।
‘अदालतबाट अपराध प्रमाणित भैसकेका अपराधीलाई सजायको दायरामा ल्याउँदै जिल्लाको नेतृत्व सम्हालेदेखि नै सक्रिय रुपमा लागेको छु’, प्रहरी उपरीक्षक वलीले भने, ‘फरार खोज्ने क्रम निरन्तर जारी रहनेछ ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले कैद तथा जरिवाना भई फरार रहेका डाँकाचोरी, ज्यान मार्ने उद्योग, लागुऔषध, ठगी, चोरी, सवारी ज्यान लगायतका विभिन्न अपराधमा सजाय पाएकाहरुलाई नियन्त्रणमा लिई अदालतमा बुझाएको हो । त्यसक्रममा ९ लाख ५७ हजार ५ सय रुपैयाँ अदालतले फैसला गरेको जरिवाना असुलीका लागि अपराधीहरुलाई अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।