गाईगोरु मृत्यु प्रकरण छानबिन समितिद्वारा प्रतिवेदन पेश

नेपालगन्ज – नेपालगन्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गत भदौ १२ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगन्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालक लगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक पाठकले बताएका छन् । घटना पनि नेपालगन्ज उपमहानगरपालिकाले पनि समिति गठन गरेको छ । उक्त समितिले छलफल र स्थलगत अध्ययन गरिसकेकाले प्रतिवेदन तयार गरिरहेको समितिका प्रवक्ता बसन्त गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया