नेपालगन्ज
मुलुक भ्रष्टाचारको दलदलमा फँस्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मुलुक संघीय संरचनामा रुपान्त्ररण भइ अगाडि बढेको भएपनि भ्रष्टाचार झन संस्थागत बन्दै गइरहेको चिन्ता ब्यक्त गर्दै यस्को बिरुद्ध सशक्त अभियान चलाउनुपर्नेमा सहभागीहरुले जोड दिएको छन् । बुधवार नेपालगन्जमा सम्पन्न बासको १६ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भ्रष्टाचारले लागु पदार्थ जस्तै नशाको रुप लिएको बताए । भ्रष्टाचारले मुलुकलाई आक्रान्त बनाएको उल्लेख गर्दै उनले मानिस जन्मे देखि मरुञ्जेल सम्म मान्छेबाटै घुस, लिने, दिने कार्य गरिरहेको बताए । भ्रष्टाचारका कारण सामान्य व्यक्तिहरुको जीवन अस्त, व्यस्त भएको भन्दै उनले भने, ‘भ्रष्टाचारबाट समाजको कुनै पनि क्षेत्र अछुतो हुन सकेको छैन, यस्का बिरुद्ध बास जस्तै संस्थाहरुले सशक्त अभियानको थालनि गर्नुपर्छ ।’ प्रजिअ खड्काले भ्रष्टाचार बिरुद्ध लाग्न सबैलाई अपिल गरे ।
कार्यक्रममा पूर्व संविधानसभा सदस्य तथा फातिमा फाउण्डेसनकी अध्यक्ष मोहम्मदि सिद्धिकीले लोकतन्त्र संस्थागत गर्नका लागि गैससहरुले महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले गैससहरुले नैं समाज रुपान्त्ररण र सुशासनको अभियान अघि बढाइरहेको बताइन् । सामाजिक सशक्तिकरण तथा सुशासनको विषयमा बास जस्ता गैससहरुबाट राजनीतिकदलहरुले सिक्न जरुरी रहेको सिद्धिकीको भनाइ थियो । बाँकेका प्रहरी प्रमुख बिर बहादुर वलीले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको बिकास गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले तीनवटै सरकारले सुशासनलाई अवलम्वन गरे देश समृद्ध बन्ने बताए । देशलाई समृद्ध बनाउन सुशासनको अभियान सञ्चालन गरि नागरिक समाजका संस्थाहरुले देशलाई ठूलो योगदान पुर्याएको बताउदै गलत कार्य गर्नेहरुका बिरुद्ध बोल्न पछि पर्न नहुने श्रेष्ठको भनाइ थियो ।
बरिष्ठ पत्रकार तथा बासका सल्लाहकार पूर्णलाल चुकेले सुशासन स्थापनाकालागि गैससहरुले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए । बोली र व्यवहारमा एकरुपता नहुँदा भ्रष्टाचार भइरहेको उल्लेख गर्दै बास सर्बाधिक कार्यक्रम गर्ने उत्कृष्ठ संस्था रहेको चुकेले बताए ।
जिल्ला समन्वय समिति, बाँकेका सदस्य चेत बहादुर घर्तीले भ्रष्टाचार न्यूनिकरण नभए सम्म बिकास सम्भव नहुने बताए । कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह, निबर्तमान अध्यक्ष सपना भट्राई, नेपाल घरेलु तथा सानाउद्योग महासँघ नगर अध्यक्ष रचना श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, उपमहासचिव तारा रोकाय, नेपालगञ्ज वडानम्वर १८ का कार्यबाहक अध्यक्ष दिग्बिजय ढुँगाना, राष्ट्रिय मानवअधिकार आयोगकी अधिकृत द्वारिका अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा बासकाकार्यकारी निर्देशक नमस्कार शाहले प्रगतिप्रतिबेदन र कोषाध्यक्ष छबिलाल सुनारले आर्थिक प्रतिबेदन प्रश्तुत गरेका थिए । बासका महासचिव शिब कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लुना बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । गैसस महासंघ नेपाल बाँके शाखाका सदस्य शंकर न्यौपानेले सामाजिक परीक्षणको प्रतिबेदन प्रश्तुतिकरण गरेकाथिए । बास केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न भएको थियो । साधारण सभाको बन्द सत्रले प्रगति तथा आर्थिक प्रतिवेदन अनुमोदन गर्नुका साथै नयाँ आ.ब.को बार्षिक कार्ययोजना स्वीकृत गरेको छ ।