यि हुन् सर्पदंशको बढी जोखिममा रहेको क्षेत्र

नेपालगन्ज -सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

बास नेपालगन्जले नेपालगन्जमा आयोजना गरेको स्वास्थ्य तथा सर्पदंशसम्बन्धी अन्तरसम्वाद कार्यक्रमका सहभागीहरुले गर्मी एवं वर्षायामसँगै हुने विभिन्न समस्यामध्येको सर्पदंश पनि एक ठुलो समस्या भएको बताएका हुन् । बाँके जिल्लाका ग्रामीण बस्ती र त्यसमा पनि विशेषगरि बैजनाथ गाउँपालिकाको चिसापानी, नेपालगन्जको घरवारीटोलर राँझा एयरपोर्ट लगाएतका क्षेत्र सर्पदंशको बढी जोखिममा रहेको सहभागीहरुको जोड थियो ।

अन्तरसंवाद कार्यक्रममा भेरी अस्पाताल नेपालगन्जमा सर्पदंशको उपचारमा संलग्न रहेका डा. पारस पाण्डेले अस्पतालमा विरामीको तथ्याङ्क राख्ने व्यवस्था नभएकाले कति जनाको उपचार गरीयो भन्ने एकिन तथ्याङ्क नभएको भन्दै त्यस्को व्यवस्थापनका लागि अस्पताल प्रशासनको ध्यान जान नसकेको बताए ।

कार्यक्रममा डा. पाण्डेले सर्पको टोकाइबाट बच्न अपनाउनुपर्ने उपायहरु, सर्पले टोकिसकेपछि ध्यान दिनुपर्ने कुरा, विभिन्न किसिमका सर्प, उपचार प्रणाली लगायतको विषयमा जानकारी गराएका थिए । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगद बहादुर शाहीले सर्पदंशको समस्या समाधानका लागि सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई यो विषयमा तालिम दिनुपर्ने र औषधीको पर्याप्त सप्लाइमा सरकारको ध्यान जानुपर्ने बताए ।

अन्तरसंवाद कार्यक्रममा आगामी दिनमा सर्पदंशको समस्या समाधानका लागि सचेतनामुलक कार्यक्रम गर्ने गरी बिभिन्न नीकायसंग समन्वय बैठकको आयोजना गर्ने, सर्पदंशको उपचार सेवालाई प्रभावकारी बनाउन र सबै स्वास्थ्य संस्थामा प्राथामिक उपचार सेवा विस्तार गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने लगायतका प्रतिवद्धता गरिएको छ । युएनडिपिको सहयोगमा बासद्वारा सञ्चालित दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तर्गत भएको सो कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक शम्भु शाहीले गरेका थिए । बासका अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा बासका निवर्तमान अध्यक्ष मन भण्डारी, नेपालगन्ज उमहानगरपालिका स्वास्थ शाखाका सहसंयोजक हरीहर तिवारी, नेपाल रेडक्रस सोसाइटीका प्रह्लाद विश्वकर्मा, लगायतले बोलेको थिए ।

प्रतिक्रिया

प्रतिक्रिया