भावुक योगी / बर्दिया – ‘घरमा बाढी पस्यो, न खाने अन्न छ, न बस्ने घर छ । कहाँ गएर बस्ने, के पाउँला र खाउँला । खाने केही पनि अन्न छैन, घर पनि छैन,’ बाढीले घर बगाएपछि दुखेसो पोख्दै सीता थारुले भनिन् । ‘दिउँसो आएर बिगार्यो, राती आइदिनुपथ्र्यो । बाँचेर यो दुःख बेहोरेर खानुभन्दा सुतेको बेला रातीमा बाढी आइदिएको भए हुन्थ्यो बुढाबुढी मात्रै थियौँ । छोराछोरी बाहिर थिए बाँचिहाल्थे,’ । बाढीले घर भत्काएर अन्नपात सबै बगाएको सम्झदैन भन्छन् सिन्धु योगी ।
विपत आएपछि गुहार्ने, कि छिमेकीलाई कि त प्रहरीलाई नै हो । पाँच वर्ष अघि साउन ३० गते शुक्रवार धेरैजसो गाँउमा बाढी पस्यो । अधिकाँश घरहरु डुबानमा परे । त्यसैबेला उद्धार गर्नुस, बचाउनुस भनेर कराए, चिच्चाए अनि फोन पनि गरे । शिक्षक रामदुलारु थारु भक्कानिएर टेलिफोनमा भने, ‘घर भत्किसक्यो, नदिको छेउमा रुखमा छौँ, धेरै घर बाढीले बगिसकेका छन् । घरपरिवार सबै घरको छतमा छन् । घर पनि भत्किने अवस्थामा छ । कृपया हामीलाई उद्दार गर्नुस् बचाउनुस् ।’
पाँच वर्षअघि बबई नदी नदीमा आएको बाढी गाउँमा पसेपछि बर्दिया ठाकुरबाबा नगरपालिकाका सीता थारु, सिन्धु योगी र दुलारु थारुले यसरी दुखेसो पोखेका थिए । बबई नदीको बाढीले बर्दियामा उनीहरुको जस्तो बिजोग धेरैको भएको छ । २०७१ साल साउन ३० गते बबई नदीमा आएको भिषण बाढीका कारण हजारौँ घर डुबानमा परे । बाढीबाट हजारौँ घरपरिवार विस्थापित भएका थिए । पूर्ण रुपमा क्षतिग्रस्त भएका बर्दियाका झण्डै साढे ३ हजार बढी घरपरिवार अझैँ पीडामा छन् ।
‘बाढी आएपछि पाँच वटा दशैँ आए गए तर राम्रोसंग दशैँ पनि मनाउन सकिएन, अब आउने दशैँ पनि त्यस्तै हुने भो । हामी बाढीपीडित हो, सरकारले हाम्रो खातामा पैसा पठाइहाल्छ भन्दै ऋण सापट गरेर व्यापारीसंग उधारोमा सामान ल्याएर अपुरो घर बनाइयो, तर सरकारले अझैँ पैसा दिएन । साहुले पैसा माग्छन्, कहाँ पाएर तिर्ने,’ बाढीपीडित हरी लम्सालले भने ।
पाँच वर्षअघि लगातारको अविरल बर्षापछि २०७१ साल साउन ३० गते बबई नदीमा आएको बाढीका कारण बर्दियाको सदरमुकाम गुलरिया सहित, हालको बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका लगायतका धेरैजसो गाउँ डुवानमा परे । बबई नदी आसपास क्षेत्रका झण्डै १४ हजार घरमा बाढी पसेको थियो । बबई नदीमा आएको बाढी गाँउमा पसेपछि न त समयमै उद्दार भयो, नत अहिलेसम्म उनिहरुले उचित राहत नै पाए । २०७२ साल बैशाखमा आएको भुकम्प पीडित सरह २०७१ सालका बाढी पीडितहरुलाई पनि राहत दिने भनेर नेपाल सरकारले घोषण पनि गर्यो तर अहिलेसम्म उनिहरुले घर बनाउने राहत रकम नपाउँदा पीडामा छन् ।
बर्दियामा अहिलेसम्मकै सबैभन्दा ठुलो २०७१ साल साउन ३० गते आएको बाढी हो । बर्दियाको सदरमुकाम गुलरीया सहित, बबई नदी नजिक पर्ने साविकका बगनाहा, नेउलापुर, पदनाहा, बनियाभार, मोहम्मदपुर, मगरागढी, शिवपुर, सुर्यपटुवा, ठाकुरद्वारा गाविस क्षेत्रका धेरैजसो गाउँ डुवानमा परेका थिए । बबई नदीमा आएको बाढीले बर्दियामा २३ जनाको ज्यान गएको थियो र ९ जना बेपत्ता भएको प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताए ।
सरकारले भुकम्प पीडित सरह बाढिपीडितलाई घर बनाउन राहत रकम प्रदान गर्ने घोषणा गर्यो । पहिलो किस्ता जग बनाउनका लागि ५० हजार पीडितको खातामा पनि पठायो । उनीहरुले घरको जग पनि बनाए, तर बाँकी रकम अहिलेसम्म पनि पाएका छैनन् । नेपाल सरकारले काखा र पाखा व्यवहार गरेको बाढीपिडत संर्घष समिति बर्दियाका अध्यक्ष डिल्लीराज खनालको आरोप छ ।
बाढी पीडितहरुलाई पहिलो किस्ता दिएपछी उनिहरुले ऋण लिएर भएपनि जग बनाएको ३ वर्ष पुग्न लाग्दा समेत थप रकम नदिएको भन्दै आफुहरुको माग प्रति सरकार गम्भिर नभएको बाढिपीडित संघर्ष समितिका पुर्वअध्यक्ष विन्तिराम थारुले बताए । सरकारले आँशिक क्षति भएका बाढिपीडितहरुलाई पनि २५ हजार दिने भनिएको थियो त्यो पनि दिएको छैन । विन्तीराम थारु भन्छन्, ‘कि तुरुन्तै थप रकम दिनु पर्यो, हैन भने दिन सक्दैन भन्दिनु पर्यो ।’
पूर्णक्षति भएका बाढीपीडितलाई घरको जग बनाउन सरकारले पहिलो किस्ता वापत ५० हजार दिएपछि उनीहरुले आफ्नो घरको जग पनि बनाए, कसैले त ऋण सापटबाट भएपनि बस्ने घर बनाएका छन् । तर बाँकी रकम नदिँदा पीडा माथी पीडा थपिएको छ, त्यसैले उनीहरु दिनहुँजसो नगरपालिकामा धाउने गरेका छन् ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।
सरकारले भुकम्प पीडितलाई काखा र बाढिपीडितलाई पाखा लगाएको बर्दियाका बाढिपीडितहरुले दुखोसो पोखिरहेका छन् । नगरप्रमुख श्रेष्ठले आफुले प्रदेशदेखि केन्द्र सरकारका सम्बन्धित निकायमा पहल थालेको बताउँदै छिटोभन्दा छिटो कार्यबिधी बनाएर रकम निकासा गरि बाढीपीडितहरुको समस्या समाधान गर्न आवश्यक रहेको बताए ।
बाढिपीडितहरुले आफुहरुका माग सुनुवाई नभएको भन्दै नगरपालिका कार्यालय परिसरमा रिले अनसन र धर्ना दिन थालेका छन् । आफुहरुको माग संवोधन नभएमा दशैँतिहार पनि नभनेर अनिश्चीतकालीन आन्दोलनमा जाने बाढिपीडितहरुले जनाएका छन् ।
नेपाल सरकारले भुकम्प पीडित सरह बाढीपीडितलाई घर बनाउन ३ लाख रकम दिने घोषणा गरेपनि ५० हजार रकम दिएर थप रकम दिन चासो नदिएको भन्दै बाढीपीडितहरु नगरपालिकामा धर्ना बसेका बेला प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो पनि पोखे । स्थानिय तहका पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र समेत बुझाए । बाढिपीडितको गुनासो जायज भएको र आफुले पनि गम्भिर भएर बाढीपीडितको माग सम्बोधन गर्न पहल थालेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
२०७१ सालमा आएको बाढिबाट पूर्णरुपमा प्रभावित बर्दियाका ८ वटै स्थानीय तहका ३ हजार ८ सय ५९ मध्ये ३ हजार २ सय ४८ बाढीपीडितहरुले घर बनाउन पहिलो किस्ता वापत ५० हजार रकम मात्रै पाएका छन् । बाढीपीडतहरुले सधैँ आश्वासन मात्रै पाए, तर घर बनाउन सरकारले दिने भनेको रकम अझैसम्म पनि पाएनन् । बाढीले गर्दा उनीहरुको संसार नै उजाडिएको छ ।
समस्या पर्दा गुहार्ने पनि सरकारलाई नै हो । त्यसैले उनिहरुको गुनासो पनि छ सरकारसँग । मुस्कीलले बाँचीयो, तर सरकाले घर बनाउन रकम दिने भनेर पनि नदिएको गुनासो छ । भुकम्प पीडितलाई काखा अनि बाढीपीडितलाई पाखा, किन त सरकार ? भनेर उनीहरु प्रश्न पनि गरिरहेका छन् । ५ वर्षदेखि राम्रोसँग दशैँतिहार मान्न नपाएका उनीहरु यसपालि पनि उस्तै हालतमा छन् । त्यसैले सरकारले उनिहरुको समस्याको समाधान गर्न अब ढिला नगरोस् ।