नेपालगन्ज – सन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो बार्षिकोत्सव देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । कम्पनीले देशभरका शाखामा विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । त्यसक्रममा नेपालगन्ज, बर्दिया र कोहलपुरका शाखामा पनि सामाजिक उत्तरदायित्वका कार्यहरु गरिएका छन् ।
कम्पनीको नेपालगन्ज शाखाले बार्षिकोत्सवको अवसरमा सोमबार रक्तदानको कार्यक्रमको आयोजना गरेको कम्पनीका शाखा प्रबन्धक कमल शाहीले जानकारी दिएका छन् । नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. विनोद अर्याल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एशोसिएट प्रोफेसर प्रेम प्रसाद पन्तले शुभारम्भ गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै कम्पनीको बर्दियाको गुलरिया शाखाले जिल्ला अस्पतालमा रहेका ६४ जना बिरामीहरुलाई फलफुल वितरण गरेको छ भने भूरीगाउँ शाखाले बजार क्षेत्रमा सरसफाई गर्यो । कम्पनीको कोहलपुर शाखाले पनि ६२ जना बिरामीलाई फलफुल वितरण गरेको नेपालगन्ज शाखा प्रमुख शाहीले जानकारी दिए ।
सन लाइफ इन्स्योरेन्स कम्पनीको देशभर २० वटा शाखा र १ सय ३ वटा उपशाखा रहेका छन् ।