सामाजिक सेवा दिवस मनाइयो , ‘सर्वोत्तम सेवा सामाजिक सेवा’

नेपालगन्ज – पहिलो पटक नेपालगन्जमा सामाजिक सेवा दिवस भव्य रुपमा मनाइएको छ । २०३४ सालमा समाज कल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर हरेक वर्ष असोज छ गतेका दिन दिवस मनाइँदै आएको भएपनि बाँकेमा भने भव्य कार्यक्रम गरि पहिलो पटक मनाइएको हो ।

‘सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विका हाम्रो अठोट’ मुल नाराका साथ ४० औं सामाजिक सेवा दिवसको अवसरमा नेपालगन्जमा दिगो बिकासका लागि सामाजिक सेवा बिषयक अन्तरक्रिया तथा सामाजिक सेवा गतिबिधि प्रदर्शनी आयोजना भएको छ । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले सबै भन्दा सर्वोत्तम सेवा सामाजिक सेवा भएको बताए । उनले सामाजिक सेवा गर्नका लागि गैससहरुको योगदान महत्वपूर्ण रहेको बताए । ‘सबैले सामाजिक रुपमा योगदान दिएरै समाज समृद्ध बन्ने हो,’ राणाले भने, ‘सबैले आ–आफ्नो ठाउँबाट योगदान दिऔं ।’ आफुले पाउने पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै आएका राणाले एक महिनाको तलब, भत्ता बाफतको रकम रु. ५० हजार संस्थागत बिकासका लागि गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखालाई प्रदान गर्ने घोषणा गरेका छन् ।

गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको आयोजना तथा बिभिन्न संघ संस्थाहरुको सहयोग तथा सहकार्यमा भएको कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले सामाजिक सेवामा क्रियाशिल गैससहरुलाई इमान्दारितापूर्वक कार्य गर्न आग्रह गरे । उनले जिल्ला प्रशासन कार्यालयलाई गैससमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । जिल्लामा रहेका गैससहरुसँगको प्रभावकारी समन्वयका लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

कार्यक्रममा बोल्दै नेपाल रेक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्माले परोपकारी कार्यसँग सामाजिक सेवा जोडिएको बताउँदै ८४ लाख प्राणी मध्ये मानिसमा मात्र परोपकारी भावना हुने कुरा उल्लेख गरे । नाफा नकमाई गरिने सेवानैं सामाजिक सेवा हो—उनले भने—गास, बास, कपास, शिक्षा, स्वास्थ्यबाट बञ्चितहरुलाई सेवा दिने कार्यनैं समाज सेवा हो ।

नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले सामाजिक काम गर्ने प्रेरणा सबैले लिई कार्य गर्नुपर्ने बताए । एक्सनएड नेपाल नेपालगन्जका प्रमुख बिष्णु शर्माले प्राचिनकाल देखिनैं सामाजिक सेवाका कामहरु भएतापनि संगठित रुपमा तुलसि मेहर श्रेष्ठको पाला देखि संगठित रुपमा सामाजिक सेवाको कार्य सुरु भएको बताए । उनले सामाजिक सेवा सुरु भएको स्मरण गर्नका लागि सामाजिक सेवा दिवस मनाउन थालिएको बताए । उनले गैससहरुलाई लाग्ने आरोपहरु हटाउनका लागि सबै गैससहरुले सामाजिक जवाफदेहिताका संयन्त्रहरु अवलम्वन गरि गैससहरु पारदर्शी र जवाफदेही हुनु पर्ने बताए ।

कार्यक्रममा अधिबक्ता नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अधिबक्ता प्रहलाद बहादुर कार्कीले सामाजिक सेवामा गैससहरु बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र बारे परिवर्तन समूहकी संयोजक ईन्द्रा जि.सि., सामाजिक सेवा केन्द्रका उपाध्यक्ष दिपेन्द्र कुमार जोशी, डेक नेपालकी दिपा थापा, दलित महिला संघकी अध्यक्ष निर्माला सुनार लगायतले बोलेका थिए । कार्यक्रममा धम्बोझी माबिकी पूर्ब प्राचार्य किरण आचार्य, बरिष्ठ कलाकार कमल बि.के. निर्माेही, नेपाल घरेलु तथा साना उद्योग महासंघकी नगर अध्यक्ष रचना श्रेष्ठ, गैसस महासंघ नेपाल बाँकेका सल्लाहकार प्रभात कुमार ठकुरी लगायतले बोलेका थिए ।

कार्यक्रममा गैससहरुले सञ्चालन गरेका गतिविधिहरु बारे बिभिन्न श्रव्य दृश्यहरु प्रदर्शन गर्नुका साथै बिभिन्न प्रकाशनहरु बितरण गरिएको थियो । महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्य समिति सदस्य शंकर न्यौपाने गरेका थिए भने धन्यवाद ज्ञापन सदस्य मैमुना सिद्धिकीले गरेकी थिइन् । कार्यक्रम सञ्चालन महासंघका सचिव आशिष बर्माले गरेका थिए । कार्यक्रममा १०० बढिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया