स्वास्थ्यचौकी प्रमुख विहीन

नेपालगन्ज – ब्यक्तिको स्वास्थ्यसंग जोडिएको महत्वपूर्ण विषयमा सम्बन्धित निकायको ध्यान जान नसक्दा त्यसको प्रत्यक्ष असर नागरिकहरुलाई पर्ने गरेको छ । बाँकेको कोहलपुर नगरपालिका स्थित समशेरगन्ज स्वास्थ्य चौकी दुई वर्षदेखि प्रमुखविहीन बनेको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित शम्शेरगन्ज स्वास्थ्य चौकीमा दरबन्दी अनुसार, कर्मचारीहरुको ब्यवस्था नहुँदा नागरिकहरु प्रभावकारी स्वास्थ्य उपचार पाउनबाट बञ्चित भएका छन् ।

साबिकको सिंगो समशेरगन्ज गाविस हाल नगरपालिकाका वडा नं. १४ र १५ र अन्य वडा तथा पालिकाबाट समेत सेवाग्राही उपचारका लागि उक्त स्वास्थ्य चौकीमा आउने गर्छन् । स्वास्थ्य संस्थाहरु स्थानीय तहको मातहतमा गएपछि उक्त स्वास्थ्य चौकीका इन्चार्ज धन प्रसाद रेग्मी नगरपालिकाको स्वास्थ्य शाखाको संयोजकको जिम्मेवारीमा गएपछि स्वास्थ्य चौकी लामो समयदेखि निमित्त इन्चार्जको भरमा चलेको छ ।


स्वास्थ्य चौकीमा जम्मा ६ जनाको दरबन्दी भएकोमा हाल ३ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । स्वास्थ्य चौकीमा दरबन्दी बमोजिकको कर्मचारीको ब्यवस्था नहुँदा दैनिक कामकाज तथा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । ‘स्वास्थ्य संस्थाका इन्चार्ज र १ जना अहेव नगर स्वास्थ्य शाखामा जाँदा र १ जना अहेवले राजिनामा दिएपछि यस्तो समस्या उत्पन्न भएको स्वास्थ्य चौकीका कर्मचारीहरुको भनाइ छ । स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुँदा स्वास्थ्य सेवा प्रवाह गर्न असजिलो भएको छ,’ कर्मचारीहरुले भने ।

उक्त स्वास्थ्य केन्द्रमा १ जना हेअ, ३ जना अहेव, २ जना अनमी, र १ जना कार्यालय सहयोगीको दरबन्दी रहेकोमा हाल २ जना अहेव, १ जना सिअनमी, र १ जना कार्यालय सहयोगि कार्यरत रहेको स्वास्थ्य चौकीका निमित्त इन्चार्ज राधिका गैरेले जानकारी दिइन् । स्वास्थ्य चौकीको इन्चार्जको जिम्मेवारीमा रहेका तत्कालिन इन्चार्जले लामो समय देखि नगरपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हाली रहेका छन् । ६ जनाले गर्नु पर्ने काम अहिले ३ जनाले मात्र गर्नु पर्दा त्यो क्षेत्रका जनताहरुले सहज रुपमा स्वास्थ्य उपचार पाउन सकिरहेका छैनन् ।

स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा स्वास्थ्यकर्मी नभएपछि उक्त स्वास्थ्य चौकी निश्चित कर्मचारीको भरमा चल्दै आएको छ । स्वास्थ्य चौकीमा उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव हुँदा सेवाप्रवाहमा जटिल समस्या उत्पन्न भएको छ । हाल कार्यरत ३ जना स्वास्थ्यकर्मीहरु मध्ये २ जना फिल्डको काम गर्ने कर्मचारीहरु छन् भने एक जना मात्र कार्यालयमा काम गर्ने कर्मचारी कार्यरत छन् । जस्को कारण फिल्डको काम गर्ने कर्मचारीले फिल्डका काम भ्याएर कार्यालयको समेत काम गर्दै आइरहेको स्वास्थ्य चौकीकी निमित्त इन्चार्ज राधिका गैरेले बताइन् । लामो समयदेखि इन्चार्जदेखि अन्य कर्मचाहरुको अभाव हुँदा दैनिक सेवा प्रवाहमा असजता भएको गैरेको भनाइ छ ।

स्वास्थ्य उपचार गर्न भनेर स्वास्थ्य चौकीमा गयो भने स्वास्थ्य चौकीमा जिम्मेवार स्वास्थ्यकर्मी नभेटिदा प्रभावकारी सेवा पाउनबाट बन्चित भएको स्थानीयबासी गुनासो गर्छन् । स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजन प्रक्रिया टुंगोमा पुग्न नसक्दा यो समस्या आएको नगर स्वास्थ्य शाखा संयोजक धन रेग्मीले बताए । कर्मचारी समायोजन भएर नगरपालिमा आइसकेको बताउँदै अब तत्काल स्वास्थ्य संस्थामा कर्मचारीको व्यवस्थापन हुने रेग्मीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया