‘दायित्व पूरा गर्नुपर्छ’

नेपालगन्ज – नेपालको संबिधान २०७२ ले दिएका अधिकारसँगै नागरिकले दायित्वहरुको पनि पालना गर्नुपर्ने खजुरामा आयोजित एक कार्यक्रममा सहभागीले औल्याएका छन् । संविधान दिवसको सन्दर्भ पारेर खजुरा गाउँपालिकाले शनिबार आयोजना गरेको संवाद कार्यक्रमका सहभागीहरुले नागरिकले अधिकार खोज्दा दायित्व पूरा गर्नेतर्फ पनि ध्यान पुर्याउनु पर्ने धारणा राखेका हुन् ।
सबै जात जाती, धर्म, लिंग, वर्गको अधिकारलाई सुनिश्चित गरे पनि कार्यान्वयन पक्ष भने अझै फितलो रहेको सहभागीहरुले औल्याएका थिए । उनीहरुले संविधान कार्यान्वयनको पक्षमा भएका त्रुटी सच्याउदै जनतासंग पुग्नुपर्ने बताए ।


खजुरा क्षेत्रका सबै राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, महिला, मधेशी, मुस्लिम, पेशा, वर्ग क्षेत्र सबैको प्रतिनिधित्वमा गरिएको संवादमा अधिकांशको धारणा संविधानले सबैको अधिकार र भावना समेटे पनि कार्यान्वयन पक्ष फितलो भएकोमा एकमत देखिएका थिए । उनीहरुले संविधानले दिएका अधिकारको सही सदुपयोग गर्दै नागरिकले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
खजुरा गाउँपालिका कार्यवाहक प्रमुख एकमाया बिकले कानून पूर्णरुपमा नबनेकाले संविधान कार्यान्वयनमा समस्या आएको बताइन् ।

उनले स्थानीय तहलाई दिएको २२ वटा अधिकार कार्यान्वयनमा पनि कानून बनाएर अगाडि बढ्न समस्या र ढिलाई भएको बताउदै आएका सुझाबहरु प्रदेश सरकारलाई प्रतिबेदनको रुपमा दिएको बताइन् ।
कार्यक्रममा नेकपा खजुराका अध्यक्ष राजकुमार बिक, नेपाली काँगे्रस सभापति शेरबहादुर गुरुङ, राजपाका अब्दुल काँदार, राप्रपाका मोहन बहादुर खड्का, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम वली, बिज्ञ समूह सदस्य भक्त बहादुर केसी, पूर्णचन्द्र उपाध्याय, कार्यपालिका सदस्य भागीरथ सुनार लगायतले बोलेका थिए । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संविधानको अध्ययन गरेर मात्र आफ्ना धारणा सार्वजनिक गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया