‘बागेश्वरी विकास कोष’ पहल

नेपालगन्ज – बागेश्वरी मन्दिरको बृहत्तर विकासका लागि उठिरहेका आवाजलाई सम्बोधन गर्दै बागेश्वरी विकास कोष पहल थालिएको छ । त्यसका लागि बागेश्वरी विकास कोषको मस्र्यौदा गरिने भएको हो ।

विकासका लागि नागरिक सरोकार समिति बाँकेको संयोजनमा शुक्रबार भएको बैठकले वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ता, नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिल श्रेष्ठ र निवर्तमान उपाध्यक्ष शालिकराम सापकोटालाई मस्र्यौदाको जिम्मा दिएको हो ।

‘समितिले आवश्यक कानुनको अध्ययन गरी कोषको मस्र्यौदा गर्नेछ’, विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘आवश्यक परे समितिले थप दुई सदस्य राख्न सक्ने व्यवस्था गरिएको छ ।’

बागेश्वरी मन्दिर बारे गरिएका पछिल्ला छलफलहरुमा बृहत्तर विकासका लागि बागेश्वरी विकास कोष स्थापनामा जोड दिइएको थियो । त्यसैको कार्यान्वयन स्वरुप कानुन निर्माण गरी सरकारलाई मस्र्यौदा दिई विधेयकका रुपमा संसद लैजान दबाब दिइने संयोजक श्रेष्ठले जानकारी दिए ।

बैठकले बागेश्वरी मन्दिरको संरक्षण, सम्बद्र्धन र विकासका लागि २०७२ सालमा तयार गरिएको मन्दिरको गुरुयोजना सम्बन्धी प्रतिवेदन अनुसार अगाडि बढ्न गुठीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । ‘त्यसमा कुनै समस्या छ भने नयाँ अझ आधुनिक र वैज्ञानिक गुरुयोजना बनाएर मात्र अगाडि बढ्न बैठकले गुठीलाई सुझाव दिएको छ’, वरिष्ठ पत्रकार पूर्णलाल चुकेले भने ।

बैठकमा संस्कृतविद् डा. राजकुमार सुवेदी, प्राज्ञ सनत कुमार रेग्मी, नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, निवर्तमान उपाध्यक्ष शालिकराम सापकोटा, ग्रीन नेपालगन्ज क्लीन नेपालगन्जका संयोजक डा. विनोद कर्ण लगायतले बागेश्वरी विकासको समग्र सम्भावना र प्रयासबारे भैरहेका प्रगतिमा बहस गरेका थिए ।
मन्दिरमा संरचना निर्माणको विषय विवादित हुँदै आएपछि विकासका लागि नागरिक सरोकार समितिले सर्वदलीय, सर्वपक्षीय छलफलका आयोजनाहरु गर्दै प्राप्त सुझावलाई गुठी तथा स्थानीय सरकारलाई पुर्याएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया