नेपालगन्ज – वडा कार्यालयले संचालन गर्ने हरेक गतिविधहरुमा पारदर्शिता, जवाफदेहिता र गुणस्तरीयता कायम गर्न सामाजिक जवाफदेहिताका औजाहरुको प्रयोग अपरिहार्य भएको बैजनाथ गाउँपालिकाका विभिन्न वडाका महिला सदस्यहरुले बताएका छन् ।
दलित महिला संघ (फेडो) बाँकेको आयोजनामा बैजनाथमा सञ्चालित दुई दिने सामाजिक जवाफदेहिता विषयक तालिममा सहभागी भएका महिला वडा सदस्यहरुले यस्तो बताएका हुन् । महिला जनप्रतिनिधि तथा अगुवा महिलाहरुलाई लक्षित गरि मंगलवारदेखि सञ्चालन भएको तालिमका सहभागिहरुले वडामा सुशासन, जवाफदेहिता र पारदर्शिता प्रबद्र्धन गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
तालिमको समापनमा बोल्दै बैजनाथ गाउँपालिका वडा नम्बर ८ का दलित महिला सदस्य कृष्णा सुनारले सामाजिक जवाफदेहिताका बिभिन्न औजारहरुको कार्यान्वयनका लागि वडामा पहल गर्ने बताइन् । कार्यक्रमकी अर्की सहभागी बैजनाथ गाउँपालिका वडा नम्बर ५ का महिला वडा सदस्य लक्ष्मी थारुले तालिमबाट सामाजिक जावफदेहिताका बिभिन्न औजारहरुको वारेमा थाहा भएको बताउदै तालिमबाट सिकेका कुरालाई कार्यान्वयन गर्न पहल गर्ने बताएकी थिइन् ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा बासका निवर्तमान अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाहले सामाजिक जवाफदेहिता, सामाजिक जवाफदेहिताका प्रकार, सामाजिक जवाफदेहिताको महत्व, सामाजिक जवाफदेहिताका बिभिन्न औजारहरु लगाएतको विषयमा तालिम दिएका थिए । तलिममा दलित महिला संघ (फेडो) बाँकेकी अध्यक्ष निर्मला सुनार, कार्यक्रम संयोजक दिलिसा गौतम, टिका बिक लगायतको सहभागिता रहेको थियो ।