जीविकोपार्जनका लागि करुणाको संघर्ष

मन भण्डारी
महिलाहरु कम्जोर हुन्छन्, गाह्रो काम गर्न सम्दैनन्, चुल्होचौको र परिवार सम्हाल्नमा मात्रै सीमित हुन्छन् भन्ने सामाजिक मान्यता अझैं पनि कायम छ समाजमा । त्यो मान्यतालाई चिर्दै पछिल्लो समय बिभिन्न क्षेत्रमा आफ्नो स्थान स्थापित गर्न सफल हुँदै गएका छन् महिलाहरु । सहर देखि गाउँघर सम्मका महिलाहरु आत्मनिर्भर बन्ने बिभिन्न बाटोमा हिड्न थालेका छन् । बिभिन्न क्षेत्रमा सफलता हासिल गर्दै अगाडि बढेका महिलाहरुमध्येकी एक उदाहरण बेनकी छन्, नेपालगन्ज वडा नं. ४ बस्ने करुणा शाह ।

नेपालगन्ज वडा नं. ४ माइती घर भएकी करुणाको १५ बर्ष पहिले विराटनगरको केटासंग विवाह भएको थियो । विवाह भएको ६ वर्षसम्म श्रीमान र परिवारसंगै वसेकी करुणा ९ वर्षदेखि श्रीमान र परिवारबाट अलगै बस्दै आएकी छन् । नेपालगन्जमा कोठा भाडामा बस्दै आएकी उनको साथमा ११ वर्षकी छोरी र उनकी आमा छन् । श्रीमानबाट अलग बस्न थालेदेखि नै उनका संघर्षका दिनहरु सुरुवात भएका हुन् । माइती घर नेपालगन्जमै भएपनि माइतीमा नबसेर कोठा भाडामा बस्दै आएकी करुणा १ जना दाइ र ५ जना दिदीकी कान्छी बहिनी हुन् ।

विवाह गर्नुपूर्व आफुले खाएको थालसम्म नमाझेकी करुणाले पछिल्लो दिनमा नगरेको काम कुनै छैन । ३१ वर्षकी करुणा अहिले नेपालगन्ज बजारमा अटो रिक्सा चलाएर आफु संगै छोरी र आमालाई पालिरहेकी छन् । सुरुमा बाँच्ने कुनै आधार नभएपछि केहि समय होडलमा भाँडा माझ्ने काम गरेको बताउने करुणाले लामो समय मजदुरी काम गरेर जीविकोपार्जन गर्दै आइन् । नेपालगन्जको त्रिभुवनचोकमा कामको खोजिमा जाने करुणाले विभिन्न कामको अनुभव सम्हाली सकेकी छन् । मजदुरी काम गर्ने समयमा कति दिन त कामै नपाएर खाली बस्नुपर्ने र काम पाएपनि कम ज्वालामा गर्नुपर्ने करुणाले दुःख सुनाउदै भनिन् । मजदुरी काम गर्दा गर्दै कामै पाउन मुस्किल भएपछि रिक्सा चलाउने पेशा उजको रोजाइ बन्यो । कामको खोजीमा त्रिभुवनचोक गएको समयमा अरुको रिक्सा मागेर चलाउन सिकेकी करुणाले विस्तारै अरुको रिक्सा भाडामा लिएर चलाउन सुरु गरिन् ।

अरुकै रिक्सा भाडामा चलाएर तीनजनाको परिवार पाल्दै आएकी करुणाले पछि बैंकबाट ऋण निकालेर आफ्नै रिक्सा किनेर चलाउदै आएकी छन् । जीवनमा संघर्ष नगरि केहि नहुने बताउने करुणा जीवन नै संघर्ष भएको बताउँछिन् । जस्तो सुकै अवस्थामा पनि अरुको अगाडि नझुक्ने करुणामा आफुले नखाएर भएपनि छोरी र आमालाई पाल्ने अठोट छ । सडकमा सवारी पर्खेर उनीहरुको गन्तव्यसम्म सुरक्षित र भरपर्दो रुपले पु¥याउन पाउँदा खुशी लाग्ने अनुभव भएकी करुणालाई पुरुषहरुको तुलनामा सवारी पाउन कठिन हुन्छ । विहाना ५ बजेदेखि रिक्सालाई आफ्नो साथी बनाउँदै आएकी करुणा विहान र बेलुकीको समय मात्रै रिक्सा चलाउँदै आएकी छन् भने दिउसोको समय आराम गर्छिन् । रिक्सा चलाएर दिनको १ हजार सम्म कमाउने करुणाले छोरीलाई बोर्डिङ्ग स्कुलमा पढाउदै आएकी छन् । पैशााको लागि संघर्ष गर्दै आएकी करुणाले जीवनभरी संघर्षलाई जारी राख्ने बताइन् ।

आफै आत्मनिर्भर बन्ने हिम्मतका साथ नेपालगन्जको एउटा ईन्जिनियरिङ्ग कलेजमा लामो समयसम्म सुरक्षागार्डको काम समेत गरेकी करुणाले अहिले आफै स्वरोजगार बन्नुपर्छ भनेर रिक्सा चलाउँन थालेकी हुन् । सुरुका दिनमा अटो रिक्सा चलाउँदा महिलाले पनि रिक्सा चलाउछन् र ? भन्ने प्रश्न र समाजका केहि नमिठा शब्दले उनलाई घोचेको थियो । तर, मनमा अदम्य सहास, आत्म निर्भर बन्ने चाहाना र पारिवारिक परिस्थितिका अगाडि ति बचनहरुलाई चुनौतीको रुपमा लिएर हिम्मतका साथ अघाढी बढेको उनी बताउँछिन् । महिलाले सजिलो र सरल काम मात्रै रोज्ने हुदाँ अहिले महिलाहरु घर भित्रै खुम्चनु परेको उनको बुझाई छ ।

दैनिक अटो रिक्सा चलाउँदा मानिसहरुलाई उनीहरुको गन्तव्यसम्म पु¥याउँदा कतिले कामको प्रशंसा गरेको र कतिले हेय दृष्टिले हेर्ने गरेको उनको अनुभव छ । ‘आफ्नो रिक्सामा सवार गर्ने गरिव, असहाय र बृद्धबृद्धाबाट भाडा नै लिदैन, त्यस्ता ब्यक्ति भेटिएमा निशुल्क सेवा गर्ने गरेकी छु’ उनले भनिन् । ‘महिलाहरुले स्वरोजगार मुलक काम गर्न खोजे विभिन्न संघसंस्थाले सहयोग गर्छ भन्ने सुनेकी छु तर अहिले सम्म आफुलाई सहयोग गर्न त के सोध्न पनि कोहि नआएको उनी बताउँछिन् । स्थानीय सरकारले विभिन्न स्वरोजगारका कार्यक्रम ल्याएको भन्ने सुनेको भएपनि आफुजस्ता महिलाहरुलाई हौसला दिने र सहयोग पु¥यान नसकेको करुणाको गुनासो छ ।

सानो उमेरमा घरपरिवारको मायामा हुर्किएकी करुणाले आँखाबाट आँसु झार्दै भनिन्, ‘काम गर्नुपर्दा सुरुका कति दिन त रोएरै विताएँ, काम नगर्ने हो भने अरु कुनै विकल्प थिएन ।’ खुकुरीको पिडा अचानोलाई मात्रै थाहा हुन्छ भनेझैं आफ्नो पिडा आफुलाई बाहेक कसैलाई थाहा नभएको बताउने करुणाले आफ्नो पिडा भित्र भित्रै लुगाएर बाँचेको बताइन् । अरुलाई कहिल्यै नयाँ बर्ष, कहिल्यै दशै, तिहार त कहिल्यै तिज आउने गरेको भएपनि करुणलाई कुनै चाडवाडले छुन सक्दैनन् । बाहिर हाँसेको भएपनि आफ्नो दिल सँधै अधारो भएको उनको भनाइ छ । ‘चाडवाड आउँछन् जान्छन् मलाई कुनै फरक पर्दैन,’ उन्ले भनिन् ।

परिवारबाट छुट्टिएर बस्नुपर्दा सुरुका दिनमा आर्थिक समस्याले खुबै सताएको भएपनि रिक्सा चलाउन थालेपछि आर्थिक समस्या नभएको उनको भनाइ छ । आफ्नो जातको भन्दा फरक जातको ब्यक्तिसंग विवाह गरेको भन्दै श्रीमानको परिवारले टर्चर दिन थालेपछि श्रीमानले आफुलाई वास्ता गर्न छोडेको र अति भएपछि छोरीलाई बोकेर नेपालगन्ज आएकी करुणाको श्रीमानसंग सम्बन्ध विच्छेद भने भएको छैन । सम्बन्ध विच्छेद नभएपनि श्रीमानले अर्को विवाह गरिसकेको र आफुसंग कुनै सम्पर्क र सम्बन्ध नभएको करुणाको भनाइ छ ।

साथीहरुको लैलैमा लागेर १४÷१५ वर्षकै उमेरमा विवाह गरेकी करुणालाई पिडित महिलाहरुका लागि आवाज उठाइदिने कोहि नभएको भान भएको छ । महिला अधिकारका ठुलठुला नारा लगाउने संघ संस्थाहरुले आफु जस्ता महिलाहरुको पिडा कहिल्यै नसुनेको उन्को गुनासो छ । साथमा कोहि नभएपनि अदम्य सहास र हिम्मत भएको बताउदै संघर्ष गर्नबाट कहिल्यै पछि नहट्ने करुणामा आत्मविश्वास छ ।

प्रतिक्रिया

प्रतिक्रिया