नेपालगन्ज – जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बाँकेका क्रियाशिल गैर सरकारी संस्थाहरुलाई पारदर्शी, जवाफदेहि र लक्षित वर्गप्रति उत्तरदायि भएर काम गर्न आग्रह गरेका छन् । आइतबार समितिले बाँकेमा रहेका गैससहरुसँग आयोजना गरेको समन्वय बैठकमा बोल्दै प्रमुख श्रीवास्तवले अब जिल्लामा काम गर्ने गैससहरुसंग नियमित अन्र्तक्रिया तथा छलफल गर्ने र गैससहरुको कामको अनुगन गर्ने बताएका हुन् ।
जिल्ला समन्वय समिति बाँकेले आफ्नो भुमिकालाई फराकिलो पार्ने प्रयास गरिरहेको छ । सामाजिक सरोकारको विषयमा विभिन्न निकायहरुसंग अन्र्तक्रिया तथा छलफल गर्दै आएको जिसस बाँकेले आइतबार बाँकेका गैससहरुसंग समन्वय बैठकको आयोजना गरेको हो ।
गैर सरकारी संस्था महाँसंघ बाँके शाखाको समन्वयमा आइतवार जिससले आयोजना गरेको समन्वय बैठकमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले गैससहरुको कार्यक्रमको वारेमा जानकारी लिने र कार्यक्रमको समिक्षा गर्ने संस्कारको सुरुवात गरिएको बताए ।
गैर सरकारी संस्थाहरुको अनुगमन गर्ने भुमिका जिल्ला समन्वय समितिको भएपनि यस अघि प्रभावकारी समन्वय हुन सकेको थिएन । जिसस र गैससहरु विच नजिकको सम्बन्ध स्थापति गर्ने र नियमित भेटघाटको वातावरण बनाउन जिल्ला समन्वय समितिलाई गैससकर्मिहरुले आग्रह गरेका थिए । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवको अध्यक्षतामा भएको समन्वय बैठकमा बिभिन्न संघ संस्थाहरुले आफ्नो संस्थाले गरिरहेको कार्यक्रम र आगामी योजनाको वारेमा प्रस्तुतिकरण गरेका थिए ।
गैर सरकारी संस्था बाँकेका सचिब आशिष वर्माले संचालन गरेको कार्यक्रममा गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले स्वागत गरेका थिए भने जिल्ला सम्न्वय समितिका सदस्य चेत बहादुर घर्ति मगरले उद्देश्य माथि प्रकाश पारेका थिए ।