जोखिममा बालबालिका : यस्तो छ समितिको प्रतिवेदन

नेपालगन्ज – बालबालिका विरुद्धका घटनामा न्यूनीकरण हुन नसकेको केन्द्रीय बाल कल्याण समिति बताएको छ । हालै समितिले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार, देशभरका सञ्चारमाध्यममा मात्रै ६ सय ५४ वटा बाल अधिकार हननका घटना प्रकाशनमा आएको छ । जसमा १ हजार ८० बालबालिका प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार, गत आ.व.को पहिलो चौमासिक भन्दा तेस्रो चौमासिकमा बालबालिका पीडित भएका घटनाहरु बढेको पाइन्छ ।
प्रदेश ५ मा भएका घटनामा १ सय ८६ जना बालबालिका पीडित भएका छन् । प्रदेश ५ मा ९६ बालक, ६३ बालिका र १ सय २१ शिशु पीडित भएको खबर सञ्चार माध्यममा आएको समितिले जानकारी दिएको छ । जसमध्ये बाँकेका ४० बालबालिका रहेका छन् । बाँकेमा १३ बालक, १५ बालिका र २५ शिशु बालबालिका अधिकार विरुद्धको घटनाबाट पीडित भएको समितिको प्रतिवेदन छ ।

प्रदेश ५ को रुकुम पूर्व ७, रोल्पामा २५, कपिलवस्तुमा ४, प्युठानमा १, गुल्मीमा २२, अर्घाखाँचीमा ८, पाल्पामा १५, नवलपरासी पश्चिम ९, रुपन्देही १६, दाङमा ३३ वटा बाल अधिकार हननका घटनाबाट पीडित भएको बाल कल्याण समितिको प्रतिवेदनमा उल्लेख छ ।
गत आ.व.मा देशभर २७ वटा बालबालिकाले आत्महत्या गरेको समितिको प्रतिवेदनमा उल्लेख छ । आत्महत्या गर्नेमा २१ बालिका र ६ जना बालक रहेका छन् ।

पछिल्लो समयमा बालबालिकालाई विभिन्न बहाना बनाई हत्या गरेका घटना पनि बढ्दै गएको समितिले बताएको छ । गत आ.व.मा देशभर ६५ जना बालबालिकाको हत्याका घटना सार्वजनिक भएका छन् । पहिलो चौमासिकमा २४, दोस्रो चौमासिकमा १८ र तेस्रो चौमासिकमा २३ जना बालबालिकाको हत्या भएको छ ।

बालबालिकालाई प्रोलभनमा पारी बेचबिखनका लागि ओसारपोसारका घटना पनि सञ्चार माध्यममा प्रकाशमा आएका छन् । समितिका अनुसार गत आ.व.मा ९६ बालबालिका बेचबिखन तथा ओसारपोसारमा परेका छन् । यस्ता घटनामा प्रभावित बालबालिका मध्ये ७० जना बालबालिका अवैध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा लैजाँदै गर्दा पक्राउ परेको घटना प्रकाशमा आएका थिए । बाँकेमा त्यस्ता ७ वटा बालबालिका बेचबिखनको जोखिममा परेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

समयमै विवाह नगर्ने तथा बालविवाह अभिभावकले गराउने गरेको तथ्यांक समितिले सार्वजनिक गरेको छ । गत आ.व.मा ३४ जिल्लामा १ सय ३७ वटा बाल विवाहको घटना भएको प्रतिवेदनमा उल्लेख छ । जसमा सय १ सय ९६ बालबालिकाको विवाह भएको थियो ।
समितिले १८ बर्ष भन्दा कम उमेरका दुई बालिकाको विवाह ६० बर्ष भन्दा बढी उमेरका वृद्धसँग भएको पाइएको जानकारी दिएको छ । गत आ.व.मा ७३ बालिकाको विवाह वयस्क पुरुषसँग भएको थियो । बालविवाहका १ सय ९६ घटना मध्ये अभिभावकले ७५ जना र १ सय २१ जना बालबालिकाले आफुखुशी बालविवाह गरेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बालविवाह घटना बढी बालिकासँग भएको तथ्यांकबाट देखिन्छ । बालविवाहका कुल घटनामा ३० प्रतिशत बालक र ७० प्रतिशत बालिकाको विवाह भएको पाइन्छ । गत बर्ष देशभर २४ वटा बालविवाह प्रहरी र बालक्लबको सक्रियामा रोखिएको तथ्यांक केन्द्रीय बाल कल्याण समितिले अभिलेखिकरण गरेको छ ।
केन्द्रीय बाल कल्याण समितिले गत आ.व.मा २ सय ५२ बालिबालिका माथि यौन दुव्र्यवहार र बलात्कारका घटना भएको खबर सञ्चारमाध्यममा आएको बताएको छ । समितिको प्रतिवेदन अनुसार, २ सय ३४ बालिका र १८ जना बालकमाथि यौन हिंसाका घटना भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया