कपिलवस्तु जिल्लामै पहिलो पटक किशोरीहरुको सवालमा किशोरीहरुकै नेतृत्वमा अभियान संचालन हुने गरि ८ बुदे घोषणापत्र जारी गर्दै किशोरी अधिकार मंच कपिलवस्तुको साधारण सभा एवं पहिलो अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका तथा नगरपालिकामा रहेको किशोरी अधिकार मंचले जिल्लाको निम्ति किशोरीहरुको सञ्जाल विस्तार गर्दै किशोरी अधिकार मंच पनि गठन गरेको छ ।
चुनावी प्रक्रियाद्धारा चयन गरिएको जिल्ला स्तरीय किशोरी अधिकार मंचको नवनिर्वाचित पदाधिकारीहरुको अध्यक्षमा शुद्धोधन गाउँपालिकाबाट बाँसखोरको साधना हरिजन, उपाध्यक्षमा शुद्धोधन हथिहवाकी चाँदनी सिंह, सचिवमा हथिहवाकी अक्षिता शुक्ला, उपसचिवमा कपिलवस्तु नगरपालिकाको शशिकला पासी, कोषाध्यक्षमा मायाँदेवी विजुवाको विनु चौधरी र सदस्यहरुमा कृष्णनगर अजिगराको गुल्सभा बानो, यशोधरा गाउँपालिका सोमडीको सुमित्रा मुराउ, शुद्धोधन गाउँपालिका बाँसखोरको पुनिता हरिजन रहेका छन् भने एक सदस्य पद नवनिर्वाचत कार्यसमितीको पहिलो बैठकले मनोतित गर्नेछ ।
जिल्ला स्तरीय किशोरी अधिकार मंचकी नवनिर्वाचित साधना हरिजनले यस नवनिर्वाचित पदाधिकारीले किशोरी अधिकार मंचलाई जिल्लामा सक्रिय पार्दै किशोरीहरुको हक अधिकारको लागि काम गर्ने र किशोरीहरुलाई अगाडी बढाउनको लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरेको थिइन् ।
कपिलवस्तुको विभिन्न गाउँपालिका तथा नगरपालिका काम गरिरहेको किशोरी अधिकारी मंचले आफ्नो दुई वर्षे कार्यकालमा बालविवाह रोकथामको लागि ५ सय ६१ घरधुरी सर्वेक्षण गरी विवाह हुन लागेको २३ बालविवाह रोक्न सफल भएको, किशोरीहरुको नागरिकताको निम्ति १ सय ४६ घरधुरी सर्वेक्षण गरिएको मध्ये ५३ जनाको नागरिकता बनाएको, शिक्षाको लागि गरिएको ९० घरधुरी सर्वेक्षणमा १९ जनालाई पुनः विद्यालय भर्ना गरिएको र घरेलु हिंसा रोकथामका लागि १५ घर सर्वेक्षण गरिएको मध्ये ६ घरलाई घरेलु हिंसा मुक्त गरिएको जानकारी आफ्नो प्रगति विवरणमा पेश गरेको थियो ।
किशोरीहरुले पेश गरेको ८ बुदें घोषणापत्रमा सामाजिक बहिस्करणमा परेका किशोरीहरुलाई एकिकृत गरि समान अधिकारको सचेतना अभियानका लागि सचेतना कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्ने, बिद्यालय देखि बाहिर रहेका किशोरीहरुका लागि बैकल्पिक अवसरको खोजी गर्ने र उनिहरुको सहयोगका लागि सरोकारवाला संघ संस्थाहरु सँग हातेमालो गर्ने, किशोरीहरुको बास्तबिक समस्या पहिचानका लागि सरोकारवाला संघ संस्थाहरुलाई सहयोग गर्ने र समस्या समाधानका लागि हातेमालो गर्ने, समाजमा ब्याप्त रहेका हानिकारक सामाजिक मुल्य र मान्यताको कारण अवसरबाट बञ्चित रहेका किशोरीहरुलाई किशोर किशोरी समान अधिकारका लागि पैरबी गर्ने, किशोर किशोरी समान शिक्षा, स्वास्थ्य, बैकल्पिक जिबिकोपार्जन तथा सुरक्षा सँग सम्बन्धित अवसर प्राप्तिका लागि नितीगत वकालत तथा पैरबी गर्ने तथा जिल्ला स्तर देखि स्थानिय तह सम्म मञ्चको अस्तित्वलाई आधिकारिकता दिन सञ्जाल बिस्तार गर्ने, बालबिवाह अन्त्यका लागि आबश्यक क्रियाकलाप सञ्चालन गर्दै नितीगत कार्यान्वयनका लागि वकालत तथा पैरबी गर्ने, किशोरी अधिकार मञ्च, कपिलबस्तुको सिमीततालाई प्रादेशिक स्तर देखि संघिय संरचनासँग अस्तित्व रहेका किशोरी सशक्तिकरण अभियानमा संलग्न सञ्जालहरु सँग हातेमालो गर्ने, किशोरीहरुको अधिकारका लागि पारित गरिएका निती नियमहरुको कार्यान्वयन गर्नका लागि सम्बन्धित तह तथा निकायलाई नितीगत दबाब दिने घोषणा गरेका छन् ।
किशोरीहरुलाई शसक्त बनाई उनिहरुको संगठन निर्माण गर्न केएर नेपालकी करुणा थापा र कपिलवस्तु स्थित दलित सामाजिक विकास केन्द्रले विगत चार वर्षदेखी काम गरिरहेको जानकारी किशोरी अधिकार मंचकी नवनिर्वाचत सचिव अक्षिता शुक्लाले जानकारी गराउनुभएको यस कार्यक्रममा यशोधरा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सरिता त्रिपाठी, गैसस महासंघका अध्यक्ष प्रविण श्रीवास्तव, महिला अधिकारकर्मि माधुरी श्रेष्ठ र माया ज्ञवाली, धर्मगुरुद्दय श्रीराम मिश्रा र मन्नान अलिले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम किशोरी अधिकार मंचकि गुडिया यादवको अध्यक्षतामा सम्पन्न भएको
थियो । कार्यक्रम संचालन किशोरी अधिकार मंचकी अक्षिता शुक्ला र साधना हरिजनले गर्नुभएको थियो ।
अत्यधिक बालविवाह हुने जिल्लाहरुको सुचिमा तेश्रो स्थानमा पर्ने कपिलवस्तु जिल्लामा छोरीहरुले आफ्नो कुनै पनि अधिकारहरु प्राप्त नगरिरहेको अवस्थामा उनिहरु यसरी संगठीत भई जिल्लासम्मको सञ्जालमा आवद्द हुनु भनेको कपिलवस्तु जिल्लाको निम्ति गौरवको विषय भएको कुरा यशोधरा गाउँपालिकाका अध्यक्ष गृजेश पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयो ः हाम्रो कपिलवस्तु छोरीहरुको निम्ति अत्यन्तै संकिर्ण छ । हामी छोरीहरु माथि हुने भेदभाव र बालविवाह रोक्नको लागि पहल गरिरहका छौं । यस्तो अवस्थामा किशोरीहरु आफै सक्रिय भएर आफ्नो शिक्षालाई निरन्तरता दिने र आफ्नो बालविवाह रोक्न हाम्रो लागि गौरबको विषय हो ।