नेपालगन्ज – मानव अधिकारका बिभिन्न सवालहरुमा बाँकेका अधिकारकर्मीले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र प्रहरी उपरीक्षक बीर बहादुर वलीसंग संयुक्त रुपमा छलफल गरेका छन् ।
हालै सरुवा भई बाँके आएका प्रजिअ खड्का र प्रहरी उपरिक्षक वलीसंग मानव अधिकार र कानूनी शासन लगायतका सवालमा छलफल गरिएको राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज शाखा प्रमुख चन्द्रकान्त चापागाइले बताए ।
प्रहरी, प्रशासन प्रमुखसंगको छलफलमा आयोगका चापागाईका साथै इन्सेकका भोला महत, एडभोकेसी फोरमका वसन्त गौतम, मानव अधिकार एलाइन्सका बाँके अध्यक्ष प्रभात कुमार ठकुरी, नेपालगन्ज उच्च बारका पूर्व अध्यक्ष बल बहादुर चन्द सहभागी थिए ।
छलफलका क्रममा प्रहरीको गोली लागी नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका डाँका चोरी मुद्दामा फरार रहेका नरेन्द्र न्यौपानेको उपचार खर्च र परिवारका सदस्यसंगको सहज भेटघाटको ब्यवस्था मिलाई दिन परिवारबाट अनुरोध आएकाले सो बमोजिमको ब्यवस्था मिलाई दिन अधिकारकर्मीले प्रमुख जिल्ला अधिकार खड्का र प्रहरी उपरिक्षक वली समग्र आग्रह गरेका थिए ।
प्रतिउत्तरमा प्रजिअ खड्काले औषधोपचारको खर्च ब्यवस्थापनमा सहजिकरण गर्ने प्रतिवद्धता जनाएका थिए भने प्रहरी उपरीक्षक बीर बहादुर वलीले न्यौपानेको परिवारलाई सहज भेटघाटको ब्यवस्था मिलाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
डाँका चोरी मुद्दाका फरार रहेका नरेन्द्र न्यौपानेलाई गोली हानेको बिषयमा प्रहरी र गोली लागेका फरार ब्यक्तिको आ¥आफ्नै दावी रहेको छ । बर्दिया जिल्ला अदालत र नेपालगंज उच्च अदालतबाट डाँका चोरी मुद्दामा दोषी ठहर भै फरार रहेका जुम्लाका नरेन्द्र न्यौपानेले आफुलाई प्रहरीले नियन्त्रणमा लिइसके पछि गोली हानेको दावी गरेका छन् भने प्रहरीले जमुनाहा नाकाबाट प्रक्राउ गरि कोहलपुर तर्फ ल्याउँदै गर्दा मोटरसाइकलबाट भाग्न खोजेकाले गोली हान्नु परेको बताएको छ ।