नेपालगन्ज – काठमाडौंमा आयोजना भैरहेको नाइन्थ एनएसए स्वीमिङ्ग च्याम्पियनशीपमा नेपालगन्ज स्थित स्प्रिङडेल एकेडेमीका छात्र खेमराज थापाले स्वर्ण पदक हात पारेका छन् । नेपाल स्वीमिङ्ग एशोसिएसनको आयोजना भएको प्रतियोगितामा थापाले ११–१२ उमेर समूहको ५० मिटर ब्याट स्ट्रोकमा स्वर्ण पदक हात पारेको विद्यालयका प्राचार्य शरद रावलले जानकारी दिएका छन् ।
३३ स्कुल र ७ वटा क्लबको सहभागिता रहेको उक्त प्रतियोगितामा स्प्रिङ डेलका १३ जना विद्यार्थी खेलाडीले विभिन्न विधाको पौडी प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । ११–१२ उमेर समूहको ५० मिटर ब्याट स्ट्रोकमा स्पिङ डेलकी सुप्रिया रावल, ५० मिटरको अण्डर टेन ब्याट स्ट्रोक र बटर फ्लाई विधाको फाइनलसम्मको यात्रा अमिल रावलले तय गर्न सफल भएका छन् । त्यस्तै स्प्रिङडेलका विशेष सिंहले ५० मिटरको अण्डर टेन ब्याट स्ट्रोकको फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।
स्प्रिङडेलका १३ मध्ये ४ खेलाडी ५ वटा विधाको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमध्ये थापाले गोल्ड मेडल जितेका हुन् । प्रतियोगिताको उद्घाटन ओलम्पिक कमिटिका अध्यक्ष, सांसद जीवन राम श्रेष्ठले गरेका थिए ।