रुपन्देही – कालाजारबाट यहाँ एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालका अनुसार भैरहवास्थित मेडिकल कलेजमा रानालाई उपचारको क्रममा कालाजार भएको पत्ता लागेको थियो । उनलाई थप उपचारका लागि बुटवल ल्याइएको थियो ।
प्रदेश नं ५ मा १२६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीमध्ये ८७ जना उपचारपछि घर फर्किएका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा निर्देशक डा विनोद गिरीले जानकारी दिनुभयो । प्रदेशका सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखा परेको छ ।
‘गत वर्ष झण्डै एक हजार जनामा डेङ्गु देखिएको थियो, यस वर्ष भयावह अवस्था छैन’, डा गिरीले भन्नुभयो । डेङ्गु नियन्त्रणका लागि तीनै तहसँग समन्वय गरिएको उहाँले बताउनुभयो । डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट अभियान सञ्चालन गरिएको छ । यस वर्ष रुपन्देहीमा ९० जनामा डेङ्गु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
डेङ्गुका कारण शनिबार एक महिलाको मृत्यु भएको थियो । मेडिकल कलेज भैरहवामा १० डेङ्गुका बिरामीको उपचार भइरहेको प्रबन्धक कमल शर्माले बताउनुभयो । दैनिक रुपमा बिरामी बढ्न थालेपछि बुटवल उपमहानगरपालिकाले १९ वटै वडाका जनप्रतिनिधि, टोल विकास समिति र स्वास्थ्य स्वयमसेविका खटाएर डेङ्गुका जीवाणु हुर्कने बासस्थान नष्ट गर्न अभियान थालेको छ । (रासस)