नेपालगन्ज – इस्लाम धर्मावलम्वीहरुको मोहर्रम पर्व १० दिन विभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । नेपालगन्जमा धार्मिक जुलुस, प्रवचन र ताजिया राखेर मोहर्रम पर्व मनाइएको हो । पर्वका अवसरमा अग्ला ताजिया सहरमा सजाइएको थियो । १० दिन राखिएका ताजिया सामूहिकरुपमा कर्बलाहरुमा विर्सजन गरिन्छ ।
बाँकेमा हिन्दुहरुले पनि मोहर्रममा ताजिया राख्ने गरेको पाइन्छ । धार्मिक जुलुसहरुमा हुने विभिन्न गतिविधि नियाल्ने हिन्दुहरुको संख्या पनि उत्तिकै हुने गरेको छ । ‘हिन्दू समुदायमा पनि ताजिया राख्ने चलनको सुरुआत हुन थालेको छ’, शान्ति सद्भाव समिति बाँकेका सल्लाहकार कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, ‘यहाँ एउटा समुदायको पर्वमा अर्को समुदायको बलियो आस्था रहने गरेको छ ।’ उनी यसले नेपालगन्ज सद्भावको सहर भएको सन्देश दिने गरेको बताउँछन् । उनी भन्छन्, ‘नेपालगन्ज हिन्दू, मुस्लिम, शिख, इसाइलगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परासँग जोडिन्छन्, सबैको आस्था सबै धर्मसँग जोडिएको शहर नेपालगन्ज नै हो ।’
शान्ति सद्भाव समिति बाँकेका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्ज नेपालकै मिश्रित समुदायको बसोबास रहेको सहर भएकै कारण यहाँ सबै धर्मप्रति सबैको आस्था र सम्मान कायम रहेको बताए । ‘एउटा धर्मको व्यक्तिले अर्को धर्मप्रति आस्था राख्नु एकअर्काप्रतिको उच्च सम्मान र आदर हो । यो नेपालगञ्जमा सदियौँदेखि चलिरहेको छ’, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका वैश्यले भने ।
इस्लामिक नयाँ वर्ष ‘हिजरी संवत् १४४० को १०औँ तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी संवत्को पहिलो महीना हो । हिजरी संवत्को ५ तारिखदेखि शुरु हुने मोहर्रमको १०औँ दिन विशेष महत्वको हुने गर्दछ । मोहर्रममा आलम राख्ने र विशेषगरी ताजिया राख्ने गरिन्छ । इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नातिसहित परिवारका सदस्य र अन्य शहीद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन छ ।
नेपालगन्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले आ–आफ्नो घर अगाडि ताजिया राखेर रातभरि जागरण बसेर ताजियादारी गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ । ताजिया विसर्जन भएको दुई दिनपछि हुने विशेष फातियामा गरीब तथा विपन्न समुदायका व्यक्तिलाई खाना पकाएर खुवाउने प्रचलन रहेको छ ।