जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अर्थोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले सिएसडिआएरले १३ हजार बढी विरुवा रोपेको छ । सिएसडिआर बाँकेको परियोजना कार्यालय राजापुर मार्फत विभिन्न जातका १३ हजार ४० वटा विरुवा बर्दिया र कैलालीका विभिन्न सामुदायिक वन, विपद् व्यवस्थापन समिति र मध्यवर्ती सामुदायिक वनसँगको सहकार्यमा वृक्षारोपण गरिएको हो ।
सिएसडिआरका कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले साउन र भदौ महिनामा कैलाली र बर्दियाका ८ स्थानमा वृक्षारोपण तथा तिनीहरुको संरक्षणमा तारबारको काम गरिएको जानकारी दिएका छन् ।
बेत, बास, सागुन, लिप्टिस, तेजपत्ता, सितल चिनी, खयर, जामु, रक्तचन्दन, पापुलर, आँप, लिचि, कटहर, अनारका विरुवा वृक्षारोपण गरिएको हो । कैलालीको जानकी गाउँपालिका–९ स्थित बक्लौवा, टिकापुर नगरपालिका वडा नं. ८ को बनगाउँ, वडा नं. ५ कोे कर्मीडाँडामा वृक्षारोपण गरिएको ठगुन्नाले बताए ।
त्यस्तै, बर्दियाको राजापुर नगरपालिका वडा नं. ३ को चक्खापुर, तिघ्रा, गेरुवा गाउँपालिका वडा नं. ३ को सोनाहा गाउँ, वडा नं. ४ को दक्षिण पुर, राजापुर नगरपालिका वडा नं. ३ को नंगापुरमा वृक्षारोपण गरिएको हो ।
सिएसडिआरले वृक्षारोपण गरिएका स्थानमा विरुवाको सुरक्षाको लागि तारबार समेत गरेको छ । सबै ठाउँमा गरी २ हजार ६ सय ७० मिटर काँडेतार लगाइएको छ । त्यसका लागि ८ सय ९ वटा सिमेन्टका पोल समेत बनाइएको कार्यक्रम संयोजक ठगुन्नाले जानकारी दिए ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) ले यूनेप/जेड जुरिक फाउण्डेसनको आर्थिक सहयोग तथा प्राक्टिल एक्सन नेपालसँगको साझेदारीमा वृक्षारोपण गरेको हो ।