रेडक्रसका कार्य उदाहरणीय

नेपालगन्ज – बाँकेका प्रमुख जिल्ला अधिाकारी कुमार बहादुर खड्काले नेपाल रेडक्रसले गर्ने कार्य उदाहरणीय रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले बाँकेका प्रमुख जिल्ला अधिकारी र बाँके जिल्लाका प्रहरी प्रमुखसंगको अन्तरक्रिया तथा स्वागत कार्यक्रममा प्रजिअ खड्काले यस्तो बताएका हुन् ।

रेडक्रसले गर्ने विपद् ब्यवस्थापन लगायत अन्य मानवीय सहायताको क्षेत्रमा सहकार्य गर्ने र जिल्ला प्रशासनबाट रेडक्रसको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता खड्काको थियो । बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले विपद् व्यवस्थापनमा रेडक्रसले उल्लेखनीय कार्य गरिरहेको बताउदै प्रहरीहरूलाई विपद् व्यवस्थापनको विविध विषयमा सहजीकरण गर्न रेडक्रसलाई अनुरोध गर्नु गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित गतिविधिहरूको बारेमा शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगीले प्रस्तुतीकरण गरेका थिए । नेरेसोका केन्द्रीय सदस्य अजीतकुमार शर्मा र बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले खादा र फुलमाला लगाई प्रमुख जिल्ला अधिकारी र बाँके जिल्ला प्रहरी प्रमुखलाई संयुक्त रूपमा स्वागत गरेका थिए ।

स्वागत एवं अन्तरक्रिया कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँकेले संचालन गरिरहेका कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया