कटकुवा गाईगोरु मृत्यु प्रकरण :तथ्य संकलन गर्दै छानविन समिति

नेपालगन्ज – नेपालगन्जको कान्जी हाउसबाट दैलेख तर्फ लगिएका गाई, गोरु मृत्युको घटनाको बिषयमा छानविन गर्न गठिन समितिहरुले घटनाको बिषयमा सत्यतथ्य संकलनको कार्यलाई जारी राखेका छन् । गृह मन्त्रालय र नेपालगन्ज उपमहानगरपालिकाद्वारा गठित दुई वटा समितिले छुट्टा छुटटै बाँके, सुर्खेत र देलेखका बिभिन्न स्थानको स्थलगत भ्रमण गरि घटनाको सत्य तथ्य संकलन गर्ने कार्य जारी राखेको जनाएका छन् ।

यस क्रममा नेपालगन्ज उपमहानगरपालिकाद्वारा गठित छानविन समितिले, नेपालगन्जको कान्जीहाउ र गाईगोरु ढुवानीमा संलग्नहरुको बयान लिने कार्य सम्पन्न गरिएको समितिका प्रवक्ता वसन्त गौतमले जानकारी दिए । कान्जीहाउस पछि समितिका पदाधिकारीहरु गाई गोरु मरेको घटनास्थल सुर्खेतको कटकुवा स्थलगत अवलोकन गर्नुका साथै सुर्खेत स्थित सरोकारवाला निकायका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, पक्राउ परि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका सवारी चालक, सहचालकसंग भेटी घटनाबारे जानकारी गौतमले बताए ।

सुर्खेतसंगै समितिका पदाधिकारीले दैलेखको श्रीस्थानका साथै स्थानीय तह र प्रहरी प्रशासनसंग घटनाबारे जानकारी लिई बुधवार नेपालगन्ज फर्केको समितिका अध्यक्ष बिकास आचार्यले जानकारी दिए । स्थलगत भ्रमणमा समितिका संयोजक बिकाश आचार्य, सदस्यहरु वसन्त गौतम, बिश्वजित तिवारी, जनकराज भण्डारी, खिमानन्द अर्याल र राम कुमार सोनकर संलग्न थिए ।

त्यस्तै, गृह मन्त्रालयद्वारा सागरमणि पाठकको संयोजकत्वमा गठित छानविन समितिले नेपालगन्जमा घटनाबारे जानकारी लिई घटनाको छानविनका लागि सुर्खेत हँुदै दैलेख पुगेको छ । उक्त समितिले सुर्खेतमा थुनामा रहेको गाईगोरु ढुवानी गर्ने ट्रकका चालक र सहचालक लगायतका अन्य सरोकारवाला निकायसंग घटनाबारे जानकारी लिनुका साथै घटनास्थल, कटकुवाको अवलोकन गरेको जनाएको छ । सुर्खेत पछि पाठक नेतृत्वको समिति बिहिवार दैलेख पुगि सरोकारवालासंग घटनाको बारे जानकारी लिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया