नेपालगन्ज – प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको नाममा रहेको जग्गाको अवस्था बुझ्न सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको टोली बिहीबार ‘फिल्ड’को स्थलगत अनुगमन गरेको छ । बुधबार नेपालगन्ज आएका आयोगका सदस्य जगतबहादुर देउजा, गुठीका कानुन अधिकृत जनक पोखरेल सहितको टोलीले जिल्लाका विभिन्न ठाउँमा बागेश्वरी मन्दिरका नाममा रहेको जग्गाको स्थलगत अवस्थाको अध्ययन गरेको हो ।
बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य सञ्चारमाध्यममा आएपछि आयोगको टोलीले सम्पत्तिको यथार्थ विवरण तयार गरी सरकारलाई प्रतिवेदन दिने उद्देश्यले नेपालगन्ज आएको हो । मन्दिरको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको तथ्य यसअघि सार्वजनिक भएको थियो । आयोगका टोली बिहीबार बाँकेको इन्द्रपुर, करमोहना पुगेको थियो । त्यहाँ १ सय ५० बढी घरहरु मन्दिरको जग्गामा रहेको फेला परेको थियो । करमोहनामा अझै पनि धेरै जग्गा खाली नै अवस्थामा रहेको पाइएको छ ।
बाँकेको खजुराखुर्दमा रहेको मन्दिरको जग्गा खाली नै रहेको फेला परेको टोली सँगै अनुगमनमा पुगेका अधिवक्ता लोक बहादुर शाहले जानकारी दिएका छन् । ‘मोहीले जग्गा जोतभोग गरेको पाइएको छ’, अधिवक्ता शाहले भने । परसपुरमा रहेको जग्गा पनि खाली अवस्थामा रहेका छन् ।
जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेको विषय सार्वजनिक भएको थियो । खोजीका क्रममा बागेश्वरीको इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर, इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं. ६१२ को १५ कट्ठा ६ धुर जग्गा व्यक्तिका नाममा नामसारी भैसकेको तथ्य सार्वजनिक भैसकेको छ । मन्दिरको जग्गा ‘रैकर’ मा परिणत गरी आफ्नो नाममा गराएको तथ्य सञ्चारमाध्यममा आइसकेका छन् ।
कसरी मन्दिरको जग्गा व्यक्तिका नाममा गयो, त्यसको कानुनी प्रक्रिया वैध थियो कि थिएन भन्ने विषयमा पनि आयोगले अनुसन्धान गर्नेछ । त्यसका लागि मालपोतसँग आयोगले जग्गाको बिस्तृत विवरण माग गरिसकेको छ । ‘मन्दिरको नाममा रहेको जग्गा व्यक्तिका नाममा गैसकेपछि पुनः मन्दिरका नाममा ल्याउने अवस्थामा आएमा बनेका घरहरुका सम्बन्धमा के गर्ने भन्ने विषय जटिल हुनसक्ने’ कानुन व्यवसायीहरु बताउँछन् ।
आयोगको टोलीसँग जग्गाको स्थलगत अनुगमनका लागि नेपालगन्ज नगर उपप्रमुख उमा थापा मगर, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी, मालपोत कार्यालय बाँकेका अधिकारीहरु पुगेका थिए । आयोगले आज सञ्चारकर्मीसँग बागेश्वरी मन्दिरको सम्पत्तिका सम्बन्धमा सुझाव लिन अन्तरक्रियाको आयोजना गर्दैछ ।