बर्दिया – नेपाल पत्रकार महासंघ बर्दिया शाखाका सचिव समेत रहेका पत्रकार भावुक योगीलाई अपरिचित व्यक्तिले ज्यान लिने धम्की दिएका छन् । गत भाद्र १५ गते आइतबार राती मोबाइलबाट फोन गरी अपरिचित व्यक्ति आफु पनि पत्रकार हुँ भन्दै विनाकारण गाली, गलौच गरी धम्की दिएका हुन् ।
पत्रकार योगीले कमल शाही पाल्पा घर बताउनेले पत्नीलाई तथानाम गालीगलौज गरी मार्छु काट्छु भन्दै ज्यान मार्ने धम्की दिएको बताएका छन् । अश्लिल शब्द प्रयोग गरी विभिन्न तवरले मानसिक तनाव तथा यातना दिएको हुनाले उक्त नम्बरबाट फोन गर्ने व्यक्ति पत्ता लगाई पक्राउ गरी विद्युतीय अपराध अन्तर्गत हदैसम्मको कानुनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा निवेदन दिएको पत्रकार योगीले बताए ।
धम्की दिने व्यक्तिसँग कुनै किसिमको परिचय नरहेको, किन र के कारणले धम्की दिएको हो भन्ने थाहा नपाएको पत्रकार योगीले बताए । प्रशासनमा पत्रकार योगीले आफु र आफ्नो घरपरिवारको जिउज्यानको सुरक्षा गरिदिन आग्रह गरेका छन् ।
महासंघका सचिव योगीलाई धम्की दिनेलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा ल्याउन जोडदार माग सहित प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ समक्ष आग्रह गरिएको नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बताएका छन् ।