नेपालगन्ज – सरकारले बागेश्वरी मन्दिरको सम्पत्ति खोजबिन सुरु गरेको छ । गत जेठ ६ गते मन्त्रीपरिषद्को निर्णयबाट सरकारी तथा सार्वजनिक जग्गा खोज्न चार सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । नेपालगन्ज आएका उक्त टोलीका सदस्यले बुधबारबाट सरोकारवालाहरुसँग भेटी सम्पत्तिको अवस्था अध्ययन सुरु गरेका हुन् ।
बागेश्वरीको सम्पत्ति जाँचबुझका लागि नेपालगन्ज आइपुगेका आयोगका सदस्य जगतबहादुर देउजा, कानुन अधिकृत जनक पोखरेलले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, मालपोत कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिकाले बनाएको बागेश्वरी मन्दिर खोजबिन समितिका संयोजक समेत रहेकी नगर उपप्रमुख उमा थापामगर लगायतसँग छलफल गरेको हो ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले आयोगको टोलीले बागेश्वरीको सम्पत्ति खोजबिनको काम सुरु गरेको जानकारी दिएका छन् । ‘मन्दिरको सम्पत्ति के, कति छ, कुन अवस्थामा छ भन्नेबारे छलफल भएको छ’, सचिव अधिकारीले भने ।
गुठीका सल्लाहकार समेत रहेका अधिवक्ता लोक बहादुर शाहले आयोगको टोलीले बागेश्वरीको छानविन प्रक्रिया अगाडि बढाएको बताएका छन् । ‘बागेश्वरीको चल, अचल सम्पत्ति के, कति छ, कुन अवस्थामा छ भन्नेबारे टोलीले केही दिन नेपालगन्जमै बसेर अनुसन्धान गर्ने बुझिएको छ’, अधिवक्ता शाहले भने ।
यसअघि बागेश्वरी मन्दिरका नाममा रहेको जग्गा व्यक्तिका नाममा नामसारी भैसकेको समाचार प्रकाशमा आएको थियो । मन्दिरको जग्गामा बसोबासको अवस्थाका बारेमा समेत आयोगको टोलीले अध्ययन गर्ने बताइएको छ । टोलीले बागेश्वरीको समग्र अवस्थाको अध्ययन गरी सरकारलाई त्यसको प्रतिवेदन दिनेछ ।
यसअघि गठित उपमहानगरपालिकाको सम्पत्ति खोजबिन समितिले हालसम्म प्रतिवेदन भने सार्वजनिक गरिसकेको छैन । यद्यपि, समितिले छिट्टै मन्दिरको आय, व्याय र सम्पत्तिको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै बताउँदै आएको छ । अब सरकारीले गठन गरेको टोलीले सम्पत्तिको एकिन गर्ने र अवस्था समेत प्रष्ट पार्ने बताइएको छ ।
यसअघि मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरि सकेको छ । जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेको विषय सार्वजनिक भएको हो । मालपोत स्रेस्तामा ४० वर्षअघिदेखि बागेश्वरीको सम्पत्तिमा माफियाका आँखा लागेको देखिन्छ ।
खोजीका क्रममा बागेश्वरीको इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको तथ्य बाहिरिएको हो । इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं. ६१२ को १५ कट्ठा ६ धुर जग्गा अब्दुल हसिब सिद्धिकीका नाममा रहेको छ । गोकर्ण र सिद्धिकीले जस्तै अरूले पनि मन्दिरको जग्गा ‘रैकर’ मा परिणत गरी आफ्नो नाममा गराएको तथ्य सञ्चारमाध्यममा आइसकेका छन् ।
सरकारले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न ६ महिनाको अवधी दिएर चार सदस्यीय जाँचबुझ आयोग बनाएको हो । मोहनरमण भट्टराईको संयोजकत्वमा आयोग बनाएको हो । आयोगको सदस्यमा जानकी वल्लभ अधिकारी, दुर्गा दाहाल र जगतबहादुर देउजा रहेका छन् ।