‘मर्ने डरले दिनहुँ रुन्छु’ मृर्गौला रोग पीडितको व्यथा

नेपालगन्ज – मान्छेको मृत्युु निश्चित छ । तर पनि मृत्युु सम्झिँदा जो कोही मान्छेको मन पिरोलिने गर्छ । बिरामी मान्छेलाई यो मृत्युु शब्दले त झन पिरोल्ने गर्छ । यस्तै मर्ने डरले पिरोलिरहेको छ बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर १, जमुनी ठुलो डाँफेका कृष्ण सुनारलाई ।

३५ वर्षीया कृष्ण करिव तीन वर्ष अघिदेखि मृगौलाको समस्या झेलिरहेका छन् । उनका दुबै मृगौलाले अहिले काम गरिरहेका छैनन् । कृष्ण एउटा हार्डवेयर पसलमा मजदुरी गर्ने गर्थे । मजदुरीको पैसाले घरखर्च टार्न गाह्रो भएपछि उनी रोजगारीको लागि बिदेश जाने निधो गरे । उनी तीन वर्ष अगाडि काठमाडौंको मेडिकलमा आफ्नो स्वास्थ्य परिक्षण गराउन पुगे ।

तर, दुःखको कुरा उनको मेडिकल रिपोर्टमा दुवै मृगौला फेल भएको कुरा डाक्टरले कृष्णलाई सुनाए । यो कुराले कृष्ण छाँगाबाट खसे झैँ भए । कृष्णको परिवारले उपचारको लागि भारतको चेन्याई, दिल्ली लगे । तरपनि कृष्णको स्वास्थ्यमा खासै सुधार भने आएन ।

कृष्णले अहिले काठमाडौंको वीर हस्पिटलमा डाइलोसिस गराइरहेका छन् । उनको स्वास्थ स्थिती झन कमजोर हुदै गएको छ । कृष्णको परिवारमा श्रीमती, एक छोरा र छोरी छन । कृष्णको सम्पुर्ण हेरचाह अहिले उनका दाई धन बहादुर सुनारले गरिरहेका छन ।

कृष्णको आर्थिक स्थिति निकै नै दयनीय छ । हाल सम्म कृष्णको डाइलसिस र उपचारमा १२ लाख बढि खर्च भइसकेको उनका दाइ धन बहादुरले बताए । कृष्णका दाईको अनुसार कृष्णलाई यतिबेला युरिक एसिडले पनि ग्रसित तुल्याएको छ । सुरुमा आफन्त र छरछिमेकीबाट सापट लिएर उपचार गरेपनी अहिले आर्थिक अभावका कारण कृष्णको थप उपचारमा अभाव भएको उनका दाइ धन बहादुर बताउँछन् ।
सामान्य हिडडुल गर्न सक्ने कृष्ण अहिले आफ्नो अवस्था देखेर दिनहुुँ रुने गरेको दाई धन बहादुर सुनारले सुनाए । कृष्णलाई भेट्न जाने जो कोहीलाई उनी मलाई बचाउँनुहोस् भनेर बिन्ती गर्ने गर्छन् । कृष्णले रुँदै भने, ‘जीवनमा नसोचेको घटना भैदियो । परिवार, श्रीमती अनि छोराछोरीलाई खुसी बनाउँछु भन्ने कति ठूलो सपना थियो । तर अहिले त्यो सपना माटोमा बिलायो । परिवारले सकेजति आज सम्म उपचार गर्यो । परिवारको आर्थिक स्थिति दयनीय छ । परिवारले पनि थप उपचार गराउँन सक्दैन होला । अब उपचारको अभावमा मर्छुकी भन्ने लागिरहेको छ ।’

कृष्णलाई डाक्टरले अब तीन महिना भित्रै मृगौला प्रत्यारोपण गर्न सुझाव दिएको छ । कृष्णलाई उनकी श्रीमती शान्ति सुनारले मृर्गाैला प्रत्यारोपण गर्न तयार छिन । तर प्रत्यारोपण र थप उपचारको लागि १२ लाख भन्दा बढी खर्च लाग्ने देखिएकाले आर्थिक अभावका कारण प्रत्यारोपण गर्न नसकेको उनका दाइ धन बहादुरले बताए ।

आर्थिक अभाव भएपछि कृष्णका दाइ धनबहादुरको नेतृत्वमा अहिले “मृगौला पिडित कृष्ण सुनार बचाउँ अभियान” सुरु गरिएको छ । अभियानमा धनबहादुरसंगै सदस्यहरु संगितकार बिपी वाग्ले, युवा अभियान्ता टेकेन्द्र मल्ल, प्रदीप भुसाल, मृगौला पीडित अभियान्ता पत्रकार खगेन्द्र दाहाल, नेपालगन्ज टाइम्सका ज्ञानु सङ्गम खड्का, अनलाइन टिभी नेपालका नवीन गिरी रहेका छन् ।

जति सक्दो चाँडो देश बिदेशका नेपालीहरु समक्ष सहयोगको अपिल गर्दै आर्थिक संकलन गरेर मृगौला पिडित कृष्णलाई बचाउन अभियान जारी रहेको “मृगौला पीडित कृष्ण सुनार बचाउँ अभियान“का सदस्य विपि वाग्लेले जानकारी दिए । कृष्णलाई आर्थिक सहयोग गर्नको लागि मोबाइल नम्बर ९८१६५११०२७ र ९८६६८१३९९६ मा सम्पर्क गर्न सकिने र लक्ष्मी बैंकको खाता नम्बर ०१९२०११०५३८ मा सिधै जम्मा गर्न सकिने पनि सदस्य वाग्लेले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया