मोटरसाइकलबाट हाम फालेर भागेपछि प्रहरीले गोली हानेको हो
नेपालगन्ज
इलाका प्रहरी कार्यालय कोहलपुरले एक फरार अपराधीलाई सोमबार गोली हानेर नियन्त्रणमा लिएको छ । ८ बर्ष अघि डाँका चोरी मुद्दामा ६ बर्ष कैद र २७ हजार जरिवाना तोकिएका बर्दिया बेलुवाका नरेन्द्र न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
बर्दियाको चेपाङ १, देउराली जंगल स्थित सडक खण्डमा हतियार देखाएर न्यौपाने लगायत तीन जनाले यूएनको गाडीमा डाँका चोरी गरेको मुद्दामा जिल्ला अदालत बर्दियाले २०६८ साल पुस २१ गते कैद र जरिवानाको फैसाला गरेको थियो । कैद र जरिवाना सजाय पाएका न्यौपाने, डिल्ली वली, मंगल शाही फरार रहेका थिए ।
फरार रहेका न्यौपाने भारतमा लुकेर बसेका थिए । उनी सोमबार नेपाल फर्किन लागेको सूचना पाएपछि इलाका प्रहरी कार्यालयका प्रमुख, हेम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले जमुनाहमा फेला पारी न्यौपानेलाई नियन्त्रणमा लिएको थियो ।
न्यौपानेलाई मोटसाइकलमा राखेर कोहलपुर लग्दै गर्दा नेपालगन्ज–२० राँझा नजिकै मोटरसाइकलबाट हाम फालेर न्यौपाने भागेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । न्यौपानेको वायाँ खुट्टाको पिडुलामा १ राउण्ड गोली लागेको छ । उनको उपचार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भैरहेको जानकारी दिंदै इलाका प्रहरी कार्यालय कोहलपुर अवस्था सामान्य रहेको बताएको छ ।