रुपा गहतराज
पुर्खाले मागेरै जीवन निर्वाह गरे । त्यही पुर्खाका कारण मगन्ताकैे पहिचान पाए । अब त्यसरी जीवन नचल्ने भो, अहिले आएर उनीहरुले पेशा र पहिचान दुबै गुमाएका छन् । न उनीहरुसँग पुर्खौली पेशा छ । न पहिचान नै ।
पेशा र पहिचानविना जीवन चलाउन कति कठिन होला ? चरम गरिबी, अशिक्षा र अचेतनामा ग्रस्त मगन्ता समुदायका जो कसैलाई पनि यसको अनुभव छ । यतिबेला आएर उनीहरुको माग भनेको आफुहरुलाई सुचिकृत गरियोस् । या, दलितमा राखियोस् । या पेशा गर्ने ब्यबस्था गरियोस् । खेतीको मुख्य बेला असार साउनमा घरमंै बस्ने उनीहरु त्यसपछि माग्न हिड्छन् परम्परा हो । जसका कारण उनीहरुसँग घरजग्गा र अन्य सम्पत्ति छैन ।
बाँकेको नेपालगन्ज देखि जमुनाह सडक चौलीका पुगेर पाँच किलोमिटर पर डुडवा गाउँपालिकाको वडा नं ६ हिरमिनीया गाउँपालिकाको एउटा वस्ती पुरै मगन्ता अर्थात् मागेर खाने पुस्तैनी पेशा अंगालेका घरपरिवारको हो । करिब ३५ कट्ठामा एक सय २० घरधुरी ऐलानी जग्गामा स सानो टहरा बनाएर बसेको वस्ती उनीहरुको पेशाजस्तै अनिश्चित र अस्थायी छ । उनीहरु विभिन्न समयमा पेशाका लागि बसाइ सरिरहन्छन् ।
मगन्ता समुदाय नेपालका अल्पसंख्यक हुन् । बाँकेको हिरमिनिया लगायतका विभिन्न ठाउँमा २०० घर परिवारका झण्डै १ हजार उनीहरुको जनसंख्या हो । उनीहरु मध्ये एक सय बढी बालवालिका छन् । अचम्मको कुरा उनीहरु कोही पनि बिद्यालय जाँदैनन् । बरु बाबुआमाको पेशामा सघाउँछन् । माग्नका लागि विभिन्न स्थानमा अभिभावकहरु बसाई सर्ने भएका कारणले बालवालिकाहरु बिद्यालय पढ्न नपाएका हुन् ।
अहिले समय फेरियो । उनीहरुलाई आफ्नै परम्पराले पोलेको छ । जीवन धान्न कष्ट छ । एकातिर पुर्खाको पेशा अपनाउँदा समाजले अपहेलना गर्ने छँदैछ, तिरस्कृत हुनु परेको तितो अनुभव मगन्ता समुदाय संग छ । तर जीवन जिउन विकल्प पनि त छैन उनीहरुसँग । पुर्खाको नासो धान्न भन्दै उनीहरु अझै पनि बृद्ध र बालवालिकालाई माग्न नेपालगन्ज त कहिले भारतका विभिन्न सहर पुग्ने गर्छन् ।
९ बर्षीया सहिना महावतका बुवा आमा बिहानैदेखि घरमा छैनन् । उनिहरु माग्न नेपालगन्ज पुगेका छन् । संवाददाता त्यहाँ पुग्दा सहिना घर कुरेर बसिरहेको अवस्थामा भेटिइन् । कुरा गर्दै जाँदा थाह भो, स्कुल जाने उमेरमा उनले स्कुलको मुख हेर्न पाएकी छैनन् । ‘बुवा आमा माग्न गए घर कुरेर बसेकी छु’, उनले भनिन, पढन जान मन भएपनि बुवा आमा पठाउँदैनन् ।
सहिनामात्र होइन, १७ बर्षीाय किरण महावतले स्कुल टेकेकी छैनन् ‘जान्ने भएपछि बुबाआमाले पढ्न पठाएनन् । बरु सानै उमेरमा माग्न सिकाए । अरुको घर दैलोमा माग्न पठाए । उनीहरु प्लास्टिक र फुसको सानो टहरामा आमाबुवासहितको परिवार बस्छन् । भुईमा पराल ओच्छ्याएर लगाइएको विछ्यौनामा रात बिताउँछन् ।
पुर्खाको पेशा जोगाउन उनीहरु छोराछोरीहरुलाई बिद्यालय पठाउनु भन्दा पनि माग्न पठाउने गरेको पुद्धन महावतले बताए । ‘सम्पत्तिको नाममा बुबाआमासँग केही नभएपछि के गर्नु ? धेरैजसो आफु जान्छौं, कहिले छोराछोरीलाइ माग्न पठाउछौ ।’
अरुको घरबाट मागेर खानु कहाँ सजिलो छ । कति गाली र दुब्र्यवहार सहनुपर्छ । त्यसैले भारत गएर रेलमा माग्न जान्छौं,’ पुद्धनले भने, ‘तर आजकालका मान्छेमा दया रहेन । खुट्टा समाउँदा पनि गाली गर्छन । पुर्खाको पेशाले काम चल्दैन ।’ उनका चार जना अहिलेपनि छोरा छोरी लिएर भारतका विभिन्न सहरदेखि नेपालका दुरदराजमा पुग्ने गर्छन् । उनि आफुपनि भारतको पंजाब सम्म त कहिले आफ्नै देशको रुकुम सम्म माग्नकै लागि पुगेका छन् ।
उमेरले ६० वर्ष काटेकी शान्ति महावत अहिलेपनि बिहानै ५ बजे घरबाट निस्कन्छिन् । घरमा कमाउने कोही छैनन् । भएका छोराछोरीको पनि बिहे भयो । छोराहरु बिहे गरेर अलग भए । वृद्ध श्रीमान हिड्डुल गर्न सक्दैनन् । उनि आफनो परिवार पाल्न बजार डुल्दै माग्दै हिड्छिन् । मगन्ताहरु मागेर मात्र नपुगेपछि कहिले प्लास्टिक र कवाड संकलन पनि गर्छन । त्यही बिक्री गरेर परिवार चलाउछु ।, ‘जग्गा जमिन छैन । पुर्खाले माग्ने सिकाए । कमाउने कुनै अवस्था नभएपछि माग्न थालें,’ शान्ति भन्छिन् ,‘पुर्खाको पेशा अब हराएर गइसक्यो । सरकारले पनि हामीलाई हेर्दैन ।’
मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायलार्ईनै मगन्ता जातीको परिचय दिइयो । पुर्खाहरुले मगन्ता नै लेखाए । अब समय बदलियो । आजका युवाहरुलाई आफनो नामको पछाडि झुण्डिने मगन्ता शब्द मन परेन । उनीहरु थरले पोल्न थालेपछि महावत लेख्न थालेको बताउन्छन् । मगन्ता समुदायका नवयुवाले माग्ने परम्परागत पेशा छाडेसँगै थर फेर्न थालेपछि आफ्नै पहिचान लोप हुन अवस्थामा पुगेको भन्दै समुदायका अगुवा चिन्ता गर्छन् ।
त्यसो त उनीहरुले पहिचानका लागि एक दुई पटक स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र नबुझाएका होइनन् । तर पेशा र पहिचानका लागि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । ‘रोजगारी र आफ्नो पहिचानका लागि एकदुई पटक नेपालगन्ज पुगेर कुरा राख्यौँ । हालसम्म केही सुविधा पाउन सकेनौ,’ मगन्ता समुदायका अगुवा आज्ञाराम महाउत भन्छन्,‘निर्वाचनका बेला नेताहरुले भोटका लागि धेरै आश्वासन दिए । तर कसैले फर्केेर हेरेनन् ।’
माग्ने पेशाले गुजारा गर्न र परिवार पाल्न सम्भव नभएपछि उनीहरु मजदुरी गर्ने र रिक्सा तान्ने काम गर्न थालेका छन् । अब क्रमशः उनीहरु बैकल्पिक पेशा अपनाउन थालेका छन् । माग्नेसँगै मजदुरी गर्ने रिक्सा तान्ने काममा लागेका छन् । त्यो पनि उनिहरुको लागि सहज छैन् । रिक्सा भाडामा चलाउन मुस्कील छ । मजदुरी गर्न नेपालगन्ज पुग्नुपर्छ । काम नभेटिए खाली हात फर्कनु पर्छ ।
मुलुकमा संघीय संरचनाको बदलिएको छ । सबै समुदायको पहिचान र मानव अधिकारको ग्यारेन्टी नयाँ संविधानले गरेको छ । तर मगन्ता बस्तीमा भने कुनै परिवर्तन आएको देखिंदैन । त्यसैले बाँकेका मगन्ता समुदाय आफ्नो परम्परा धान्न संघर्षमा जुटिरहेको छ । ‘हाम्रो माथि पहँुच छैन । नेताहरु पनि बोल्दैनन,’ आज्ञाराम भन्छन्, ‘हामीसँग न परम्परागत पेशाा रह्यो न सम्मान नै पाएका छौँ ।’ माग्ने पेशा गर्दा समुदायको अपहेलना र तिरस्कार सहनु पर्ने बाध्यता छ । बैकल्पिक पेशा नहुँदा जीवन गुजारा गर्न समस्या भएको छ, उनीहरुलाई । मगन्ता समुदायलाई दलितको सूचीमा राखिएको छ । तर थर महावत लेख्ने गरेका कारण उनीहरु सामाजिक सुरक्षा भत्ताबाट पाउन मुस्किल हुन थालेको छ ।
पुस्तौंदेखि मागेरै गुजारा गर्दै आएका यहाँका अल्पसंख्यक मगन्ता समुदाय अधिकारको खोजीमा जुटेका छन् । उनीहरूले अल्पसंख्यक तथा लोपोन्मुख समुदायले पाउने सेवासुविधा आफूहरूले पनि पाउनु पर्ने माग सरकार संग राखेका छन् । स्थायी रूपमा सुरक्षित बास, रोजगारी र बालबालिकालाई पोषणयुक्त खाना र निःशुल्क शिक्षा उनीहरूका प्रमुख माग हुन् ।
महावतहरुले सरकारले दिने सुविधा सहजै रुपमा प्रदान गर्न जोड दिएका छन् । मगन्ता भनेपछि सबैले हेप्छन् । काम गर्न छोडेर किन माग्दै हिडेको भनेर हप्काउँछन् । उनीहरुलाई के थाहा हाम्रो पेशानै माग्ने थियो,’ स्थानीय शोभाराम महावत भन्छन्, ‘सरकारले हामीले रोजगारी देओस् । हाम्रो अधिकार ग्यारेन्टी गरोस् । अल्पसंख्यक मानेर मासिक भत्ताको सुविधा दिनु पर्यो ।’
अहिले गाउँमै सरकार छ । उनीहरुको वस्ती रहेको डुडुवा गाउपालिका अध्यक्ष नरेन्द्र चौधरीले राज्यले उनिहरु माथि बिभेद गरेको स्वीकार्छन् । उनले उक्त समुदायको जीवन सहजताका लागि वैकल्पिक सीपको आवश्यकता रहेको बताए । ‘आत्मनिर्भर बनाउने सिपमुलक तालिमको बिशेष प्पाकेज बनाएका छौं । त्यसका लागि कार्यबिधि पनि बनाउदैछौ ’। करीब १५ लाखको बजेटको कार्यक्रम भएको उनले सुनाए । ।
आदिवासी जनजाति महासंघका बाके अध्यक्ष डम्बर थापामगर मगन्ता लोपोन्मुख समुदायको जीवनस्तर बढाउन कुनै पहल नभएको गुनासो गर्छन् । ‘मगन्ताको आफनै संस्कार र पहिचान छ । हातमा सिप नभएकाले उनिहरु बसाइ माग्नका लागि डुलिरहन्छन् ,’ उनले भने, ‘उनिहरुको लागि दिर्घकालिन ब्यबस्थापन आवश्यक छ ।’ आयआर्जनका सहज विकल्प दिनसके यो लोपोन्मुख समुदायको दिर्घकालिन ब्यबस्थापन हुनसक्ने अध्यक्ष थापामगरको विश्वास छ । सरकारले अतिलोपोन्मुख जातिमा सूचीकृत नगरेर उनिहरुलाई बेवास्ता गरेको उनले बताए । मगन्ता समुदाय सूचीकृत नभएकै कारण राज्यबाट कुनै पनि सुबिधा पाउन सकेका छैनन् ।
‘उनिहरुको स्थिति दलित भन्दा पनि कमजोर छ । त्यसैमाथि मधेशी समुदायमा सुचिकृत हँुदा कुनै सेवा सुबिधा पाउँदैनन्, बर्माले भने , ‘गरीब बिपन्न भएको यो समुदाय सरकारले दिने सेवा सुबिधाको सदुपयोग भएन ।’ मगन्ता समुदायले आफुलाई दलीतमा सुचीकृत गरि पेशाको सुनिश्चितताका लागि माग गर्दै सरकारको ध्यानाकर्षण गराउनेतिर अगाडी बढ्नुनै आफ्नो पहिचान र पेशाको ग्यारेन्टी देखेको छ ।
(प्रकाशित मिति : २०७५ भदौ १२ गते)