आज वडामा सेवाग्राहीले लिने सेवा बापतको राजस्व समेत वडा अध्यक्षले तिरी दिने
नेपालगन्ज – खजुरा गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष तिलकबिर सुनारले आफ्नो एक महिनाको तलब बराबरको रकम १९८०० रुपैयाँ दुबै मृगौला फेल भएका खजुरा गाउँपालिका ३ का अमित दर्जी लाई सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर मृगौला पीडित दर्जीलाई अध्यक्ष सुनारले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
कमजोर आर्थिक अवस्था रहेको अमितको आर्थिक अभावको कारण उपचारमा समस्या उत्पन्न भएको थियो । उनको उपचारमा सहयोग होस भनेर आफ्नो एक महिनाको तलब प्रदान गरेको अध्यक्ष सुनारले नेपालगन्ज न्युज संग बताएका छन् ।
जन्मदिनको दिन खर्च गर्ने रकम सामाजिक कार्यमा प्रदान गरेका अध्यक्ष सुनारले आज वडामा सेवाग्राहीले लिने सेवा बापतको राजस्व समेत आफुले तिरिदिने बताएका छन् ।
‘आज वडामा आउने सेवाग्राहीको लागि निशुल्क सेवा प्रदान गर्दैछु , सेवाग्राहीले तिर्नुपर्ने राजस्वको रकम मैले ब्यक्तिगत रुपमा तिर्ने छु’ , अध्यक्ष सुनारले बताए ।
पुर्व खेलाडी , खेलप्रेमी र खजुरालाई खेलकुदको हबको रुपमा बिकास गर्ने अठोट लिएका युवा वडा अध्यक्ष सुनार युवाको प्रेरणा बन्दै गएका छन् । सुनार वडाको कामको लागि दिनरात खटिने जनप्रतिनिधिको रुपमा समेत परिचीत छन् । गतवर्ष पनि आफ्नो जन्मदिनको दिन अध्यक्ष तिलकबिर सुनारले बालबालिकाको पढाईका लागि सहयोग गरेका थिए ।