समातियो तस्करी गर्न लागिएको केराउ

बर्दिया प्रहरीले ३८ क्वीन्टल नियन्त्रणमा लिई भन्सार बुझायो

नेपालगन्ज- खुला सीमानाको फाइदा उठाउँदै तेस्रो मुलुकबाट आयात गरिएको केराउ भारत तर्फ हुने तस्करी रोकिएको छैन । तेस्रो मुलुकबाट आयातित केराउको मूल्य नेपालमा भन्दा भारतमा महंगो पर्ने भएकाले तस्करी हुने गरेको हो । तेस्रो मुलुकबाट आयात गरेर सीमावर्ती क्षेत्रमा भण्डार गर्ने र सानो तथा ठूलो परिणाममा भारत तस्करी हुने गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले भारत तस्करी गर्न लागिएको आइतबार ३७.५ क्वीन्टल केराउ प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध रुपमा भारत लैजानका लागि ७५ वटा बोरामा राखिएको केराउ नियन्त्रणमा लिई भन्सार पठाएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्तीले गुलरिया–१० मा वेवारिसे अवस्थामा केराउ फेला पारेको थियो । २ लाख रुपैयाँ बढी मूल्यको उक्त केराउ थप कारवाहीका लागि राजापुर भन्सार कार्यालय बर्दियामा दाखिल गरिएको बर्दिया प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।

केराउको तस्करी सानो र ठुलो परिमाण दुबै गरी हुने गरेको देखिन्छ । साइकल, मोटरसाइकल, ट्याक्टर र ट्रकमासमेत तस्करी हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ । बाँकेमा पनि पटकपटक प्रहरीले अवैध निकासीका लागि लग्ने गरिएको केराउ नियन्त्रणमा लिंदै आएको छ । खुल्ला सीमाको फाइदा उठाउदै बढी नाफा कमाउने उद्देश्यले तस्करहरुले गाउँको बाटो तस्करी गर्दै आएको पछिल्ला नियन्त्रणका घटनाले देखाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया