टीएस ठकुरी
‘नेपालगन्ज बजारैमा घाम लाग्यो घमाइलो,
ऐतिहासिक नगरी माँ बागेश्वरी नेपालीलाई यो ठाउँ रमाइलो । ।’
कुनैबेलाको चर्चित यो गीतले नछुने सायदै कोइ नेपालगन्जीया होलान् । नेपालगन्जमा जन्मिएका, हुर्किएका र कर्मथलो बनाएका हरेक नेपालगन्जीयाका लागि यो गीत साँच्चिकै कालजयी बन्यो ।
एउटा समय थियो नेपालगन्जका हरेक सांगीतिक कार्यक्रम यही गायनबाट सुरु हुन्थे । नेपालगन्जमा हुने कुनै पनि सांगीतिक एवं सांस्कृतिक कार्यक्रमका लागि गायक कन्हैयासिंह परियार उच्च प्राथमिकताको सुचीमा पर्दथे । किनकी उनले नेपालगन्जको गीत गाएका थिए । गीतमार्फत नेपालगन्जको सौन्दर्यतालाई चित्रण गरेका थिए । नेपालगन्जको बिशेषतालाई उजागर गरिदिएका थिए । यही गीतले वास्तवमा कन्हैयालाई राष्ट्रिय स्तरमा चिनायो । नेपालगन्जको सामान्य कन्हैया, यो गीतपछि राष्ट्रिय स्तरको गायक कन्हैया र संगीतकार कन्हैया, यही गीतले बनाइदियो । यो गीत कन्हैयाले रचना गरे, संगीत भरे, आवाज दिए । यस गीतबाट कन्हैयाको परिचय किनपनि स्थापित भयो भने यो लहडमा गाएको मात्र नभइ यसको शब्द रचना, उनीभित्रको गायकी क्षमता र संगीत चेत नै हो ।
यो गीतले नेपालगन्जको जातीय, धार्मिक र साम्प्रदायिक विविधतालाई उजागर गरिदिएको छ । नेपालगन्जलाई केन्द्रबिन्दु बनाउने मुख्य गरी बाँके, बर्दिया, सुर्खेत, दैलेख र जाजरकोटको कनेक्सनलाई पनि जोडिदिएको छ । कुनैबेला पहाडी जिल्लाबाट किनमेल गर्न आउनेका लागि नेपालगन्ज प्रमुख व्यापारिक थलो थियो । साविक भेरी अञ्चलको सदरमुकाम हुनुका नाताले पनि उनले भेरीका पाँच जिल्लालाई नेपालगन्जसँग गहिरो नाता गाँसिदिए । सम्भवतः मुलुक संघीय संरचनामा गइसकेपछि पनि कताकता उकुसमुकुस हुनुको कारक पनि यस्तै यस्तै सम्बन्ध र कारण हुन् सायद । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बाँके बर्दियालाई नजिक लाग्छ, नेपालगन्जलाई आत्मीय लाग्छ । भलै नेपालगन्जलाई कर्णालीमा गाभ्ने आवाज बेलाबखत उठ्ने गरेका छन्, यो कति तार्किक र तथ्यगत होला, यो अलग बिषय हो । तर कन्हैयाको यो गीतले नेपालगन्जलाई साविकको भेरी अञ्चलका पाँच जिल्लासँग नाता सम्बन्ध गाँसिदिएको छ ।
उनले यो गीतमा नेपालगन्जका पर्यटकीय स्थलको पनि चर्चा गरेका छन् । मेयर डा. धवल शमसेर राणा जब पहिलोपटक नेपालगन्ज नगरपालिकाको मेयरमा निर्वाचित भए, उनले रानीतलाउ, महेन्द्र पार्कलाई संरक्षित गर्दै पर्यटन क्षेत्रका रुपमा विकास गरे, जनप्रतिनिधिविहिन अवस्थामा संरक्षणको मारमा परेका यी पर्यटकीय क्षेत्र फेरि अहिले गुल्जार बन्न थालेका छन् । कारण डा राणा फेरि त्यही जिम्मेवारीमा छन् ।
हो, कन्हैयाले गीतमा यिनै महेन्द्र पार्क र रानीतलाउको बखान गरेका छन् । रिक्सा र टाँगाको पनि चर्चा गरेका छन् । टाँगा नेपालगन्जको पुरानो सवारी साधन हो । अझ उनले यो गीतमा जातीय, धार्मिक र साम्प्रदायिक विविधताको गम्भीर बिषय उठान गरेका छन् । त्यो भनेको ‘अनेकतामा एकता यहाँको बिशेषता’ भन्ने लाइनले मिठास भरिदिएको छ । हुनपनि नेपालगन्ज जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको सहर हो । नेपालगन्ज ३४ प्रतिशत मधेशी, १८ प्रतिशत थारु, २० प्रतिशत मुस्लिम र २८ प्रतिशत पहाडी समुदायको बसोबास रहेको सद्भावको शहर हो ।
नेपालकै सर्वाधिक गर्मी हुने ठाउँ भनेर चिनिएको नेपालगन्ज संघीय राजधानी काठमाडौंदेखि २२७ माइल टाढा छ, जहाँ विविध धर्मावलम्बी, जातजाति र सम्प्रदायको बसोबास छ । यही सदभावको सहरमाझ घरबारीटोल छ, जुन नेपालगन्जको सर्वाधिक पुरानो बस्ती हो । यहाँको शिक्षा, खेलकुद, साहित्य र संगीत चेतको स्तर हेर्दा पुरानो बस्ती भएको अनुभुति हुन्छ । हरेक खेलाडीका लागि ओलम्पिक सपना हुन्छ । यो क्षमता, कला र सीपले मात्र हुँदैन । भाग्य पनि चाहिन्छ । यसहिसाबले घरबारीटोल भाग्यमानी टोल हो । जहाँ सुरेन्द्र हमाल, पार्वती थापा र अनिता श्रेष्ठ जन्मिए, २५ मिटरको सेरोफेरोमा जन्मिएको यो सम्भवतः दुर्लभ संयोग हो । महेन्द्र हमाल जस्त संगीत चेत भएको मानव जन्मिए । यस्तै सभ्यताको विकासक्रमले कन्हैयालाई जन्माएको हो । महेन्द्र हमालका अनुयायीका रुपमा कन्हैया उदाए । नेपालगन्जका कन्हैया, घरबारीटोलका कन्हैया । ओलम्पियन सुरेन्द्रको छिमेकी कन्हैया ।
खेलकुद, साहित्य, सिनेमा र संगीतले जात, धर्म र सम्प्रदाय भन्दैन । अन्जना गुरुङ र कन्हैयासिंह परियारको जोडी एउटा उत्कृष्ट दृष्टान्त बनिसकेको छ । छोरी अपेक्षा १० कक्षामा पढ्ने भइसकिन् । आज यहाँसम्म आइपुग्न कन्हैयाले धेरै मेहनत गरेका छन्, संघर्ष गरेका छन् ।
संघर्षको यात्रामा ‘नेपालगन्ज बजारैमा’ गीत र एल्बम जसै सार्वजनिक गरे, उनी एकाएक चर्चाको शिखरमा पुगे । नेपालगन्जले औधी माया गर्न थाल्यो, राष्ट्रिय मञ्चमा रेस्पोन्स पाउन थाले ।
‘यही गीतले नै मलाई राष्ट्रिय स्तरमा चर्चामा ल्यायो ।’ नेपालगन्जको बौद्ध गुम्बानजिकै क्याफेमा गफिंदा उनले सुनाए–‘त्यसपछि नै मेरो सांगीतिक यात्राले गति समातेको हो ।’ शक्तिपीठ बागेश्वरी र जन्मभुमिको गीत गाएका कारण आफ्नो सांगीतिक यात्रा उकालो लागेको उनी अहिले पनि निर्धक्क भन्छन् । नेपालकै पुरानोमध्येको सहर नेपालगन्जको विरासत घरबारीटोल हो । उनी यही टोलमा जन्मिए, बागेश्वरीको आँगनमा हुर्किए, नेपालगन्जलाई सांगीतिक यात्राको प्रस्थान बिन्दु बनाए । सांगीतिक यात्रा प्रगतिशील गायनबाट सुरु भएको थियो । नेपालमा भर्खर बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो २०४६ सालमा । उनी देश र जनताका गीत गाउँदै गाउँ बस्ती पुग्थे । यसैक्रममा गायिका अन्जना गुरुङसँग भेट भयो । दुवैजना गायन कला भएका र संगीत चेत भएका युवा थिए । देश र जनताको मुक्तिका गीत गाउँदै हिंड्ने क्रममा माया प्रेम झाँगियो, यो सम्बन्धलाई विवाहमा परिणत गरे । अब गीत संगीतबाटै जीवन यापन गर्नुपर्ने अवस्था आयो । दुवैजना करिअरमा गम्भीर थिए । त्यतिबेला राजधानी काठमाडौं सबैको गन्तव्य थियो । कन्हैया र अन्जना पनि काठमाडौं हान्निए २०५४ सालमा । रेडियो नेपालमा स्वर परिक्षा दिए, उत्तीर्ण भए । गायनलाई व्यावसायिक बनाउने निधोका साथ अघि बढिसकेका थिए । काठमाडौंका गल्ली गल्ली चहारे । यसैबीच २०५७ सालमा ‘नेपालगन्ज बजारैमा’ एल्बम बजारमा ल्याए । यो गीतले उनलाई चर्चा दिलायो । त्यसपछि २०६० सालमा ‘तिम्रो साथ’ एल्बम आयो । उनले हरेक दुई बर्षमा एल्बम बजारमा ल्याउने जमर्काे गरेका छन् । यसैक्रममा २०६२ सालमा ‘पिरतीको फूल’ एल्बम निकाले । छोरी अपेक्षा जन्मिएपछि एल्बम ‘अपेक्षा’ २०६४ सालमा आयो । र, २०६६ सालमा आमाको सम्झनामा ‘आलाप’ ल्याए । २०७१ मा आलाप २, २०७४ मा आलाप ३ ल्याएका उनी अहिले आलाप ४ को तयारीमा नेपाल आएका हुन् । यसको सिरिज पाँचसम्म पुग्ने उनी बताउँछन् । आमाको सम्झनामा निकालिएको एल्बमले उनलाई संसारभर चिनायो । ‘तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो’ गीत यति हिट भइदियो कि उनलाई पुरस्कार र सम्मान थाप्न भ्याइ नभ्याइ भयो । उनी स्थापित कलाकारको नजरमा समेत मार्क भए, गीत संगीत पारखीमाझ लोकप्रिय बने । अझैं पाँचौं श्रृंखलासम्म किन जाने? मैले उनलाई सोधें । ‘एउटा हातका पाँच औंला जोडिंदा मुठ्ठी बन्छ, बलियो मुठ्ठी ।’ उनी भन्छन्–‘यसले मेरो सांगीतिक यात्रालाई बलियो बनाउने अपेक्षा गरेको छु ।’
सामान्यतया हरेक दुई बर्षमा एल्बम निकाल्दै आएका कन्हैया गीत र संगीतलाई नै जीवन ठान्छन् । गायनले नै आफुलाई नेपालगन्जको कन्हैया भनेर चिनाएकोमा उनी गर्व गर्छन् । गीतसंगीतको कर्मले उनलाई पछाडि फर्कनुपरेको छैन । निरन्तर अघि बढिरहेका छन् । आजपर्यन्त अघि बढिरहेका छन् । उनी अहिले अमेरिका बस्छन् । आम नेपालीको जस्तै उनले पनि अमेरिकालाई सुरक्षित गन्तव्य ठाने । अमेरिका पुगे । अमेरिकामा पनि संगीत साधना गरिरहेका छन् । अमेरिकालाई केन्द्र बनाएर बेलायत, अष्ट्रेलिया, क्यानडा पुगिरहेका हुन्छन् गायन यात्राका क्रममा । बर्षेनी नेपाल आउँछन् । गीत रेकर्ड गराउँछन् । साथीभाई भेटघाट गर्छन् । यसैक्रममा उनी नेपालगन्ज आउन छुटाउँदैनन् । ‘कामले गर्दा काठमाडौंमा अडिन्छु, हैन भने नेपालगन्ज आउन हतार भइसक्छ मलाई ।’ उनी भन्छन्–‘नेपालगन्जको माया मनभरि छ, मुटुभरि छ । नेपालगन्जले मलाई परिचय दियो, बागेश्वरी माताको आशीर्वादले मलाई पछाडि फर्केर हेर्नुपरेको छैन ।’
बागेश्वरी परिसरमा भत्काइएको ठाउँमा बिजनेस कम्प्लेक्स(सटरसहितको भवन) निर्माण गर्ने कि नगर्ने भन्ने बिषयमा चर्को बहस भइरहेका बेला कन्हैया नेपालगन्ज आइपुगेका छन् । एक साता काठमाडौंको बसाइलाई बिट मार्दै नेपालगन्ज आइपुगेका कन्हैया साथीभाई आफन्त भेटघाट गर्नमै व्यस्त छन् । उनी बागेश्वरीलाई नेपालगन्जको मुटु मान्छन् । बागेश्वरीले नेपालगन्जको पर्यटनलाई शिखरमा पुराइदिने बिश्वास गर्छन् । भन्छन्–‘सबै मिलेर नेपालगन्जको सौन्दर्यकरण गर्नतर्फ लागौं, म विदेशी भुमिमा बसेर पनि योगदान गर्न चाहन्छु ।’