गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर खस्किँदै गएको गुनासो गरिएको छ । बाँकेको डुडुवा गाउँपालिकाका अभिभावकहरुले निजी तथा संस्थागत विद्यालयको पहुँचबाट टाढा रहेका गरिब तथा सिमान्तकृत समुदायका छोराछोरीले पढ्ने विद्यालयहरुको अवस्था खस्किँदै गएको गुनासो गरेका हुन् ।
सामुदायिक विद्यालयको अवस्था खस्किंदै जाँदा गरिवका छोराछोरीहरु गुणस्तरिय शिक्षा पाउनबाट बञ्चित हुनपरेको भन्दै सरोकारवालाहरुले शिक्षकलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यायालयहरुमा कार्यरत शिक्षकहरुले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेको औल्याउँदै स्थानीयवासीले आफु कार्यरत विद्यालय तथा विद्यार्थीप्रति जवाफदेही बन्न नसक्दा र जिम्मेवारी बहन नगर्दा विद्यालयको गुणस्तर नाजुक बन्दै गएको टिप्पणी गरे ।
बासको सहजिकरणमा शनिवार डुडुवा गाउँपालिका वडा नम्बर ५ को नानापुरमा भएको सार्वजनिक सुनुवाईमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किंदै गएको प्रति चिन्ता ब्यक्तगरिएको हो । स्थानीयहरुले उठाएको विषयमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले पछिल्लो समय सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किनुको कारण अरु नभइ अभिभावक तथा शिक्षक भएको बताए । शिक्षकहरु आफ्नो जिम्मेवारी प्रति उत्तरदायी नहुनाले यस्तो समस्या आएको बताउँदै अध्यक्ष चौधरीले अब उप्रान्त शैक्षिक क्षेत्रको अनुगमन गर्ने र जिम्मेवारी पुरा नगर्ने कामचोर शिक्षकहरुलाई सरुवा गर्न गाउँपालिकाले पहल गर्ने चेतावनी दिए ।
डुडुवा गाउँपालिका वडा नम्बर ५ निवासी कालु गिरीले विकास निर्माणका कार्यहरु अषाढ महिना केन्द्रीत हुनाले जनताले अपेक्षा गरे अनुरुपको गुणस्तरीय विकास हुन नसकेको बताए । जन सहभागितामा आधारित योजना तर्जुमा गरी समयमै कार्य थालनी गर्न तर्फ सबैको ध्यान जानुपर्नेमा गिरीले जोड दिए । सहभागीहरुले राखेको प्रश्न तथा सुझावको जवाफ दिदै गाउँपालिका अध्यक्ष चौधरीले विगतका वर्षमा विविध कारणले योजनाको कार्यान्वयनमा ढिलाई भएको स्वीकार्दै यो वर्षमा कार्तिक महिनादेखिनै योजनाको कार्यान्वयन हुने गरी कार्य गर्न पालिका लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे ।
डुडुवा गाउँपलिका वडा नम्बर ५ को गौरी खजुरामा अहिले सम्म पनि बिद्युत बाल्न नपाएको गुनासो गर्दै स्थानीय मिना बुढाथाकीले पोल गाड्ने, तार टाङ्गने मात्रै होकी बिधुत बाल्न पनि पाउने हो ? प्रश्न गरिन् । गाउँपालिकाको विभिन्न अवसरबाट महिलाहरु बञ्चित हुने गरेको विचार राख्दै मिनाले थपिन् महिलाहरुका लागि कुनै सिपमुलक तथा आयआर्जनमुलक तालिमको लागि कुनै योजना छैन ? अर्का सहभागी मिन बहादुर चन्दले प्रविधीको युगमा गाउँपालिकाले प्रविधिका उपकरणहरुको प्रयोग गरी गुणस्तरीय विकासमा लाग्नुपर्ने बताए ।