बजार अनुगमनलाई निरन्तरता दिइने

कोहलपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिको सोमबार बैठकले बजार अनुगमनको कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।
पहिलो चरणमा दैनिक उपभोग्य खाद्य बस्तुको अनुगमनलाई प्राथमिकता दिने र उपभोक्ता शिक्षा कार्यक्रम संचालन गर्नेे निर्णय गरेको समितिका सदस्य सचिव धन बहादुर खत्रीले जानकारी दिए ।

बर्षातको सुरुवात भएसंगै बजारमा गुणस्तरहिन, म्याद नाघेका, सडेगलेका खाद्य बस्तुहरुको बिक्रि बितरण हुन सक्ने कुरालाई मध्यनजर राख्दै पहिलो चरणमा खाद्य बस्तुहरुको बिक्रि बितरण गर्ने खाद्यान्न, किराना पसल, होटल तथा रेष्टुरेन्ट लगायतको अनुगमन गर्ने निर्णय भएको समितिका संयोजक एवं कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले जानकारी दिईन ।

बैठकले उपभोक्ता अधिकार बारे जानकार नहुँदा उपभोक्ताहरु ठगिनु परेको र उपभोक्ता अधिकार हनन भैरहेको सन्दर्भमा मध्यनजर राख्दै नगरपालिकाको प्रत्येक वडामा उपभोक्ता सचेतना कार्यक्रम गर्ने नीति अनुरुप पहिलो चरणमा कोहलपुर नगरपालिका वडा नं १४ स्थित हवल्दारपुरमा उपभोक्ता शिक्षा कार्यक्रम गर्ने निर्णय गरिएको समिति सदस्य एवं उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले जानकारी दिए ।

अब्यवस्थित तरिकाले सडक पेटी अतिक्रमण गरि ब्यापार ब्यवशाय गर्दा एकातिर खुल्ला रुपमा बिक्रि बितरण हुने खाद्य बस्तुको गुणस्तरमा आंशका रहन जानुका साथै फुुथपाथ र सडकपेटीमा ब्यापार गर्दा पैदल यात्रुको आवागमनमा समेत असर पर्ने भएकाले यसको उचित ब्यवस्थापनका लागी नगरकार्यपालिकालाई अनुरोध गर्ने निर्णय बैठकले गरेको जनाएको छ ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सन्जु कुमारी चौधरीको अध्यक्षतामा भएको बैठकमा, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम, बाणिज्य कार्यालय बाँकेका प्रमुख कृष्ण पौडेल, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, समितिका सदस्य सचिव धन बहादुर खत्री, नगरपालिकाका आर्थिक बिभाग समिति संयोजक डिल बहादुर परियार, नगर स्वास्थ्य शाखा प्रमुख धन रेग्मी, लेखा अधिकृत सुदिप सिंह सुनार र नगरपालिकाकाकै इन्द्रमणि ढकाल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका शौरभ श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कोहलपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिको सक्रियता र बजार अनुगमनको कार्यबाट कोहलपुरको बजारमा केही सुधार आएको उपप्रमुख सन्जु कुमारी चौधरीले बताइन् । बजार अनुगमन हुन थाले पछि दर्ता गरेर ब्यवसाय गर्ने प्रबृत्ति बढेको, कर तिर्ने बानीको बिकाश हुदै गएको, मासु पसलहरु ब्यवस्थित हुदै जान थालेको, उपभोक्ता शिक्षा र चेतनाको स्तर बृद्धि हुदै गएको उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख सन्जु कुमारी चौधरीले बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया