प्रयोग विहीन सरकारी ‘पेटिका’

मन भण्डारी , नेपालगन्ज : सरकारले व्यवस्था गरेको ‘पेटिका’ प्रयोग विहीन भएका छन् । प्रायःजसो सबै सरकारी कार्यालयहरुमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिंदै आएका पेटिका प्रयोग विहीन जस्तै भएका हुन् । केहि वर्ष पहिले सम्म सुझाब तथा गुनासो पेटिकामा गुनासोहरु भरिएका पत्र भेटिने गरेकोमा पछिल्लो समय सुझाव पेटिका खोले पनि केहि नहुँदा कार्यालयहरुले समय समयमा पेटिकाहरु खोल्न छाडेका छन् ।

कतिपय सरकारी कार्यालयमा राखिएका ति पेटिकाहरु वषौँ सम्म पनि खोलेको पाइदैन । कति पेटिकामा माकुराको जालो देखि बारुलाका ‘घर’लगाएको सम्म भेटिने गरेको छ । सरकारी कार्यालयका अधिकारी सम्म प्रत्यक्ष सम्बन्ध तथा पहुँच नभएका सर्वसाधारणलाई कार्यालय तथा अधिकारीसंग सम्बन्धित गुनासो, समस्या, सुझाब सजिलो तरिकाले राख्नका लागि ब्यवस्थापन गरिएका यस्ता पेटिका अहिले आएर प्रयोग विहीन बन्दै गएका हुन् ।

नागरिकको बढि चाप र प्रशासनिक काम हुने जिल्ला प्रशासन कार्यालयको नयाँ बनेको भवनमा पनि पुरानो शैलीबाट उजुरी लिने सुझाव पेटिका राखिएको छ । तर, त्यहाँ सुझाव तथा गुनासो आएको छैन । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले दैनिक नेपालगन्ज सँग भने, ‘सेवाग्राहीहरुको कार्यालय र कुनै कर्मचारी संग सम्बन्धित गुनासो भए सिधै प्रजिअ तथा सहायक प्रजिअ कहाँ आउने भएकाले होला, पेटिकामा गुनासो दिन छाडिएको छ ।’ सूचना प्रविधीको प्रयोग हुन थालेकाले पनि गुनासो तथा सुझाव पेटिकामा गुनासो आउन छाडेको हुनसक्ने बाँके प्रशासनका सुचना अधिकारी समेत रहेका अर्यालको भनाइ छ ।

सरकारी कार्यालयहरुमा कार्यालयको कामकारवाही, कर्मचारीको व्यवहार, भ्रष्टाचार, ढिलासुस्ती लगायतको विषयमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहजताको लागि पेटिका राखिएको हो ।
जिल्लामा सबैभन्दा बढी जनसरोकारको कार्यालय मध्येको मालपोत तथा भुमिसुधार कार्यालय सबैभन्दा गुनासो आउने मध्येको कार्यालय पनि हो । खासगर, कामको ढिला सुस्तीका बहानामा ‘नजराना’ लिने गरिएको गुनासो आउने उक्त कार्यालयमा समेत पेटिका खाली छ । ‘कसैले कुनै गुनासो तथा समस्या भए सिधै कार्यालय प्रमुख होस वा जिल्ला प्रशासन कार्यालयमै पुगेर गुनासो पु¥याइने गरिएको छ, मालपोत तथा भुमिसुधार कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले , मन्त्रालय सम्मनै पुगेर गुनासो गर्ने गरिएको सुनाउँदै भने, ‘अब त सामाजिक सञ्जाल मार्फत गुनासो पोख्ने र बिरोध गर्ने प्रचलन आइसकेको छ ।’

जिल्ला प्रशासन कार्यालय मात्रै होइन नागरिकको चाप बढि हुने जिल्ला मालपोत, आन्तरिक राजश्व कार्यालय, जिल्ला समन्वय समिति, नेपालगन्ज उप—महानगरपालिका कार्यालय लगायतमा कतै पनि उजुरी र गुनासो पेटिकामा नखसेको सम्बन्धित कार्यालयका अधिकारीहरु बताउँछन् । कति कार्यालयहरुमा पेटिका राखेपछि एक पटक पनि खोलिएको पाइदैन ।
कसैले हालेको थाहा पाए खोल्ने गरिएको भए पनि गुनासो तथा सुझाव आउन छाडेपछि पछिल्लो समय पेटिका खोल्नै छाडिएको सरकारी कार्यालयका सुचना अधिकारीहरुको भनाइ छ । ‘खोल्न छाडेपछि धेरै कार्यालयको उजुरी तथा गुनासो पेटिकाको चाबी समेत कहाँ छ भन्ने कुराको जानकारी कार्यालयका कर्मचारी कसैलाई हुँदैन,’ एक कार्यालय प्रमुखको भनाइ थियो ।

नेपालगन्ज उप—महानगरपालिकाका सूचना तथा गुनासो सुन्ने अधिकारी शरद पौडेलले आफ्नो कार्यालयमा राखिएको पेटिकामा गत आर्थिक वर्षमा एउटा मात्र गुनासो प्राप्त भएको जानकारी दिए । ‘पछिल्लो समय नागरिकहरुमा सचेतना बढेको र कर्मचारीहरु सम्म पहुँच बढेकाले गुनासो तथा सुझावहरु पेटिकामा पर्नै छाडेको,’ पौडेलको तर्क छ ।

धेरै कार्यालयले आफ्नो कार्यालयको सबै विवरण, नागरिक बडापत्र तथा वेवसाइटमा राख्ने र समय समयमा कार्यालयको प्रगति विवरण पनि वेवसाइटमा राख्ने गरेका छन् । कार्यालय प्रमुखलाई भेटेर वा फोन गरेर गुनासो र उजुरी गर्ने हुँदा पनि उजुरी पेटिकाको प्रयोग हराउँदै गएको सम्बद्ध अधिकारीको भनाइ छ ।

सुशासनको क्षेत्रमा क्रियाशील संस्था, बासका कार्यकारी निर्देशक नमस्कार शाहले भने सरकारी कार्यालयहरुमा झुण्ड्याइएको पेटिकामा सुझाव वा कुनै गुनासो हाल्दा सुनुवाइ नहुने भएकाले उपयोग विहीन अवस्था आएको बताउँछन् । ‘गुनासो तथा सुझाब पेटिका राखिनु राम्रो प्रावधान भए पनि सेवाग्राहीलाई त्यसको महत्वको वारेमा जानकारी गराउन नसक्दा र कार्यालयहरुले उचित प्रयोग गर्न नसक्दा पेटिकाको महत्व घट्दै गएको देखिन्छ,’ गैसस महासंघ नेपाल बाँके शाखाका अध्यक्ष समेत रहेका शाहले दैनिक नेपालगन्जको जिज्ञासामा भने ।
सरकारी कार्यालयमा राखिएका गुनासो तथा सुझाब पेटिकाको प्रयोग नहुनु र नागरिकहरुले पेटिका प्रति विश्वास गर्न छोड्नुको कारण पत्ता लगाई त्यसको महत्वको बारेमा आम नागरिकलाई जानकारी गराउन र प्रयागमा ल्याउन सार्वजनिक निकायको ध्यान जान जरुरी छ । ‘कित सुनुवाईको भरपर्दो र प्रभावकारी बैकल्पिक संयन्त्र तयार हुनुपर्छ,’ सुशासनका पक्षमा क्रियाशील अभियन्ताहरु भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया