बाँकेबाट स्याटलाइट टेलिभिजन सञ्चालन

बाँकेको नेपालगन्जबाट स्याटलाइट टेलिभिजन सञ्चालनमा आएको छ । मंगलबार परम्परागत वैदिक विधीबाट पुजाअर्चना गरी जी नेपाल टेलिभिजन सञ्चालनमा ल्याइएको हो ।
झण्डै ५ करोडको लागतमा पूर्ण रुपमा सञ्चालनमा आउने जी नेपाल टेलिभिजन काठमाडौं बाहिर पहिलो स्याटलाइट टेलिभिजनका रुपमा रहेको सञ्चालक संस्था अवध मिडिया ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक आशिष गुप्ताले जानकारी दिए ।


मंगलबार समाजका विशिष्ट प्रतिनिधिहरु बीच धार्मिक अनुष्ठान सुन्दरकाण्ड लगाएर टेलिभिजनको शुभारम्भ गरिएको छ । ‘शुभ साइत हेरेर धार्मिक विधिबाट टेलिभिजन शुभारम्भ गरियो’, टेलिभिजनका प्रबन्ध निर्देशक गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘मंगलबारबाट नियमित प्रसारणमा गएको छ ।’ गुप्ताका अनुसार, बुधबारबाट दैनिक समाचार पनि प्रसारण गरिने जी नेपाल एचडी टेलिभिजनमा मुलुकको संघीयताको सम्पूर्ण तस्वीर देख्न सकिनेछ ।

‘संघीयताको तस्वीर, हामीले मूल थिम नै बनाएका छौं’, गुप्ताले नेपालगन्जबाट देशैभरी कभरेज एरिया राखिएको प्रसारण विश्वसामु जाने जानकारी दिंदै भने, ‘एचडी प्रविधिबाट काठमाडांै बाहिर स्याटलाइट टेलिभिजन यो नै पहिलो हो ।’


शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघदेखि नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपाल बार एशोसिएसन लगायत समाजका विभिन्न पेशागत तथा सामाजिक प्रतिनिधित्वहरुको सहभागिता थियो ।

प्रतिक्रिया

प्रतिक्रिया