कारागार पुग्यो संसदीय समिति, चाप व्यवस्थापनमा चासो

प्रदेश ५ को संसदीय समितिले शुक्रबार जिल्ला कारागार बाँकेको अनुगमन गरेको छ । प्रदेश ५ का कारागारहरुमा क्षमता भन्दा बढी कैदी राखिएको, भौतिक पूर्वाधार जीर्ण भएको गुनासो बढेपछि प्रदेश मामिला तथा कानुन समितिले कारागारको अनुगमन गर्ने क्रममा नेपालगन्ज आएको हो । प्रदेश मामिला तथा कानुन समितिका सभापति सहित सदस्यहरु दुई वटा समूह बनाएर प्रदेशका १२ जिल्लामा अनुगमनका लागि खटिएका हुन् ।


कारागार निरीक्षणका लागि आएकी समितिका सभापति दामा कुमारी शर्माले कारागारहरुको अनुगमनले वास्तवित अवस्था थाहा हुने र त्यसैका आधारमा योजना बनाउन र आवश्यक निर्देशन दिन सहज हुने बताएकी छन् ।


अनुगमनपछि समिति संयोजक शर्माले जिल्ला कारागार बाँके जीर्ण भएको, क्षमता भन्दा बढी कैदी रहेको, कैदी, बन्दीलाई बस्न, सुस्तका लागि स्थान अभाव रहेको पाइएको बताएकी थिइन् । ‘कैदी, बन्दीको अवस्था कष्टकर रहेको पाइएको छ’, कारागार व्यवस्थापन आवश्यक देखिएको बताउँदै शर्माले भनिन्, ‘अनुगमन पछि प्रदेश सरकारले त्यसका लागि योजना बनाउने छ ।’
बाँकेको नौबस्तामा ३ हजार क्षमताको क्षेत्रीय कारागार तयार भएपछि कैदीबन्दी राख्न सहज हुने उल्लेख गर्दै समिति सभापति शर्माले ठेकेदारका कारण नौबस्ता कारागार निर्माण ढिलाई भए निर्माण कम्पनी परिवर्तन समेत गर्न सकिने बताएकी थिइन् । सभापति शर्माले कारागारको अवस्था अध्ययन पछि त्यसको व्यवस्थापन कार्य दुई महिना भित्रै अघि बढाउने बताएकी थिइन् ।


जेलमा रहेको श्रम शक्ति खेर गैरहेको उल्लेख गर्दै सभापति शर्माले त्यसको सदुपयोग गर्न प्रदेश सरकारलाई सुझाव दिने बताएकी थिइन् । कारागारलाई सुधार केन्द्रका रुपमा समेत अघि बढाइनु पर्ने धारणा राख्दै शर्माले भनिन्, ‘कैद भुक्तान पछि जीविकोपार्जन सहज हुने किसिमका तालिमहरुको आयोजना पनि आवश्यक छ ।’ उनले जेलमै समेत सीपमूलक र आयआर्जन हुने खालका तालिमहरु सञ्चालनका लागि प्रदेश सरकारले ध्यान पुर्याउने बताएकी थिइन् । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख मदन भुजले कारागार जीर्ण रहेकाले तत्कालै मर्मतको आवश्यकता रहेको बताए ।


जिल्ला कारागार बाँकेका प्रमुख भरत पाण्डेले २ सय ५० पुरुष र ५० जना महिला राख्ने क्षमताको कारागारमा हाल ७ सय १३ जना कैदी बन्दी रहेको जानकारी दिएका थिए । उनले क्षमता भन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै कैदीबन्दीलाई सुस्त, बस्न समेत समस्या भैरहेको जानकारी समितिलाई गराएका थिए । पर्याप्त ठाउँ नभएपछि बरण्डा, खुला आँगन, भन्सा र शौचालयको छतमा समेत कैदी बन्दी सुत्न बाध्य रहेको जेलर पाण्डेले बताए । ‘ठाउँ व्यवस्थापन गर्न सक्ने अवस्था छैन, भएकै ठाउँमा मिलाएर राख्नुपर्ने बाध्यता छ’, उनले भने ।


वि.सं. २००० सालमा बनेको नेपालगन्ज कारागार जीर्ण समेत बन्दै गएको छ । ‘तत्काल मर्मतका कामहरु गर्न आवश्यक छ, तर त्यसका लागि बजेट छैन’, जेलर पाण्डेले भने ।
खुला आकाश, बरण्डा र छतमा समेत सुत्ने गरेका कैदीबन्दी बर्षात्मा ओत लाग्ने ठाउँ समेत नभएको कैदी नाइकले समितिसँग भनेका थिए । कैदी बन्दीहरुले गर्मीयाम संगै खानेपानीको अभाव र शौच गर्दा लाइनमा बस्नु पर्दा निकै कष्टकर भएको बताएका थिए । उनीहरुले पर्याप्त बस्ने ठाँउ र खेल्ने मैदान अभाव रहेको अनुगमन टोली समक्ष राखेका थिए ।


‘जेलभित्रै थप भवन बनाउने, पूर्वाधार निर्माण गर्ने, मनोरञ्जन र खेलकुदका सामानहरु पर्याप्त हुने हो भने समस्या हुँदैनथ्यो’, कैदीबन्दी भन्छन् । जेलर पाण्डेले संसदीय समितिलाई कैदी तथा थुनुवाहरुका लागि सीपमूलक तालिम आयोजना भैरहेको बताएका थिए । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा पुरुषका लागि वायरिङ्ग र महिलाका लागि दुई महिने तालिम आयोजना भैरहेको बताएका थिए । तालिम ३५ पुरुष र १३ जना महिलाले लिइरहेको समितिलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया