टोलमा बिस्तार हुँदै होटल व्यवसायी

होटल व्यवसायी संघ बाँके नेपालगन्जलाई टोल स्तरमा बिस्तार थालिएको छ । संघका अध्यक्ष भीमलाल कंडेलका अनुसार, टोलटोलमा रहेका व्यवसायीहरुलाई सशक्तिकरण गर्दै संघको कार्य क्षमता वृद्धिका लागि टोल स्तरमा टोल समिति गठन गर्न थालिएको हो ।


‘हाम्रो कार्यक्षेत्रभित्र आठ वटा यसखालका टोल समिति गठन हुनेछन्’, सोमबार दयाराम ढकालको नेतृत्वमा पुष्पलाल चोक टोल समिति गठन गरिएको जानकारी दिंदै अध्यक्ष कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘मंगलबार बसपार्कमा भेला गरिंदैछ ।’


अस्पताल लाइनमा पूर्ण बहादुर रासकोटी, जमुनाहमा राम गोविन्द सोनी र राँझामा पञ्चलाल कार्कीको नेतृत्वमा टोल समिति गठन गरिसकिएको छ । ‘न्यूरोड, खजुरा र धम्बोझीमा पनि यसैसाता टोल समिति बिस्तार गरिसकिने छन्’, अध्यक्ष कंडेलले टोल भेलाबाट नेतृत्व सहितको समिति सर्वसम्मत चयन गरिंदै आएको जानकारी दिंदै भने ।


साना तथा मझौला व्यवसायीहरुलाई संगठित गर्दै अगाडि बढेको होटल व्यवसायी संघ बाँके नेपालगन्जले ठूला तारे होटलहरुलाई पनि संघको दायरामा राखेको जनाएको छ । ‘सबै होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई एउटै छातामूनि ल्याउने र उनीहरुको हकहितका लागि वकालत गर्ने हाम्रो उद्देश्य हो’, अध्यक्ष कंडेलले नेपालगन्ज क्षेत्रका झण्डै ८ सय व्यवसायी संगठित भैसकेको जानकारी दिंदै भने ।


‘व्यवसायीहरुलाई विभिन्न प्रशिक्षण सहित स्तरोन्नतीका लागि पनि योजनाहरु बनाइएका छन्’, व्यवसायको बृहत्तर हितका लागि आगामी कार्तिक १–५ सम्म योजनामा लागेको संघले जिल्लामा पर्यटन व्यवसायका लागि पनि उत्तिकै भूमिका खेलिरहेको जानकारी दिंदै अध्यक्ष कंडेलले भने ।

प्रतिक्रिया

प्रतिक्रिया