गुणस्तरहीन सिमेन्ट बेचेको पुष्टि भएपछि सगरमाथाले जरिवाना समेत तिरेको छ
बर्दिया/भावुक योगी
दाङको घोराहीमा रहेको घोराही सिमेन्ट उद्योगबाट उत्पादित सगरमाथा ब्राण्डका सिमेन्ट उद्योगीलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले ७ लाख रुपैयाँ जरिवाना तिराएको छ । घोराहीबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसी सिमेन्टका सञ्चालक, निर्देशक र व्यवस्थापकलाई कालोबजारी ऐन अन्तर्गत ७ लाख रुपैयाँ जरिवाना तिराइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिएका छन् ।
उद्योगका सञ्चालक पुरुषोत्तम संघाईलाई ३ लाख रुपैयाँ, निर्देशक संजय वंशल र व्यवस्थापक आदित्य संघाईलाई जनही २ लाख रुपैयाँ जरिवाना तिराईको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताएका छन् । झण्डै ७ महिनाअघि जिल्ला प्रशासन कार्यालय बर्दियाले उद्योगका सञ्चालकलाई २३ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थियो ।
नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर नभएको प्रमाणित भएको प्रतिवेदनको आधारमा कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जानकारी दिएका छन् । उनीहरु विरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन अन्तर्गत जरिवाना लिएर छाडिएको उनले बताए ।
बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी परेपछिको परिक्षणबाट ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएपछि त्यहाँको प्रशासनले दाङ प्रशासनलाई सिमेन्ट उत्पादन र बिक्री वितरण रोक्न पत्राचार समेत गरेको थियो ।
बजार अनुगमनका क्रममा सगरमाथा सिमेन्टमा शंका लागेपछि नमुना सङ्कलन गरी गुणस्तर तथा नापतौल विभागमा पठाइएको थियो । ‘सगरमाथा नामको सिमेन्टमा ल्याब रिर्पोट अनुसार विभागबाट गुणस्तर नभएको प्रतिवेदनका आएपछि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जरिवाना गराएका हौँ,’ प्रजिअ कुरुम्बाङले भने । प्रशासनले गरेको जरिवाना सगरमाथा सिमेन्टका उद्योगीले तिरेको समेत उनले बताए ।
नेपाल गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा म्यानिसिया (खरानी) बढीमा ५ प्रतिशत हुनु पर्नेमा ६ दशमलव ५ प्रतिशत बढी भएको जनाइएको छ । सगरमाथा सिमेन्टको गुणस्तर राम्रो नदेखिएपछि झण्डै १० महिनाअघि बर्दियाका विकास आयोजना लगायत सरकारी कार्यालयमा सगरमाथा ओपीसी सिमेन्ट प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सुचना जारी गरेको थियो ।