विपीचोक स्थित पछाडी आगलागी भएको छ । फोहोरमा आगलागी भएको हो । फोहोरको थुप्रोमा आगो दन्किएपछि निभाउनका लागि दमकल पुगेको थियो ।
लापरवाहीले आगो, दमकललाई सास्ती
बैशाखामा २१ आगलागीका घटना
लापरवाही गरेर आगो लगाउने अनि दमकललाई निभाउन बोलाउने प्रवृत्ति बाँकेमा पाइएको छ । नेपालगन्ज वारुण यन्त्र शाखाका अनुसार, बैशाखमा मात्रै त्यस्ता आधा दर्जन बढी घटना भएका छन् । मानवीय लापरवाहीको सास्ती भने वारुण यन्त्रका कर्मचारीले भोग्नु पर्दछ ।
‘फोहोरोको थुप्रोमा आगो लगाएपछि निभाउनका लागि हामीलाई बोलाउने गरिन्छ’, नेपालगन्ज वारुण यन्त्रका निमित्त इन्चार्ज समेत रहेका फायर म्यान नरेन्द्र सिंहले भने, ‘गर्मीमा गरिने लापरवाहीले ठूलो आगोलागीका घटना निम्त्याउने जोखिम देखिन्छ ।’ घर, बस्ती नजिक फोहोरो थुप्रोमा आगो लगाउँदा त्यसले घर समेतमा आगलागीको जोखिम हुने भएकाले नागरिक आफै पनि सचेत हुनुपर्ने इन्चार्ज सिंह बताउँछन् ।
नर्सरीमा लागेको आगो निभाउन समेत वारुण यन्त्रका कर्मचारी खटिनु परेको छ । ‘नर्सरीमा लागलागी पनि लापरवाहीले नै हुने गरेको हो’, नेपालगन्ज वारुण यन्त्रका निमित्त इन्चार्ज नरेन्द्र भन्छन्, ‘बैशाखमा मात्रै फोहोरको थुप्रो र नर्सरीमा आगलागीका आधा दर्जन बढी घटना भएका छन् ।’ ‘आगलागी भएपछि निभाउनु हाम्रो जिम्मेवारी हो’, उनी भन्छन्, ‘तर जोखिमप्रति मानिस सचेत हुने हो भने मानवीय त्रुटिका कारण अनावश्यक नोक्सानी व्यहोर्नु पर्ने अवस्था आउँदैन ।’
नेपालगन्ज उपहानगरपालिकामा आगलागी नियन्त्रणका लागि एउटा मात्र वारुण यन्त्र रहेको छ । गर्मीमा बढी आगलागीका घटना हुने गर्दछन् । त्यसैले एउटा वारुण यन्त्र आगो नियन्त्रणका लागि अपर्याप्त रहेको इन्चार्ज सिंह बताउँछन् । ‘एक पटक आगो निभाएर पानी भर्न आउँदा केही समय लागिहाल्छ’, उनले भने, ‘त्यसैले क्षति कम गर्ने हो भने दमकल थप्नु आवश्यक छ ।’ त्यसो त नेपालगन्ज उपमहानगरपालिकाले दमकल खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । उपमहानगरपालिकाले केही समयमा अर्को दमकल थपिने जानकारी दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा रहेको वारुण यन्त्र बैशाखमा कुल २१ आगलागीका घटना नियन्त्रण लिन खटिएको छ । जसमा दुई वटा भारतीय सीमावर्ती बजार रुपैडिहाको पनि रहेको छ । जेठमा ३ वटा आगलागीका घटना भएका थिए । बैशाखमा पसल, सामुदायिक वन, नर्सरी र फोहोरको थुप्रोमा आगलागीका घटना नियन्त्रणका लागि नेपालगन्जको वारुण यन्त्र खटिएको हो ।
पानी भरेर तयार अवस्थामा रहने दमकल सूचना पाउने बित्तिकै गन्तव्य तर्फ लाग्ने गर्दछ । तर, कतिपय बेला दमकल ढिलो पुगेको गुनासो सुनिंदा दुःख लाग्ने गरेको बताउँछन् फायर म्यान रिख बहादुर राना । ‘सडकमा दमकल छोइने गरी राखिएका विद्युत तार र जीर्ण सडक भएका ठाउँमा दु्रत गतिमा जान समस्या हुन्छ’, राना भन्छन्, ‘ढिलाईका कारण नबुझि हामी तिर नै प्रश्न तेस्र्याइन्छ ।’
चालक आया सिंह आगो नियन्त्रणका लागि जाँदा होचो राखिएको विद्युत तार उचाल्नका लागि बाँसको लठ्ठ्ठी लिएर हिड्ने गरेको बताउँछन् । ‘हामी सकेसम्म आगो नियन्त्रणका लागि समयमा पुग्ने गरेका छौं’, उनी भन्छन्, ‘कहिलेकाही अपजस दिइन्छ, त्यसमा चित्त बुझ्दैन ।’
गत बर्ष जेठमा ७, असारमा ४, साउनमा ४, भदौमा ६, असोजमा ४, कार्तिकमा ५, मंसिरमा ८, पुसमा ४, माघमा २, फागुनमा ३ र चैत्रमा ९ वटा आगलागीका घटना नियन्त्रणका लागि नेपालगन्जमा रहेको वारुण यन्त्र खटिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा रहेको दमकल नेपालगन्ज मात्र नभई बाँकेका कुनैपनि ठाउँ र कहिलेकाही अन्य जिल्ला र माग भए सीमावर्ती भारतीय क्षेत्रमा समेत पुग्ने गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले दमकललाई २४ घण्टा तयारी अवस्थामा राख्ने गरेको छ । दमकल राखिने नगर भवनमा दमकललाई पानी भर्नका लागि पानी ट्यांकीको व्यवस्था छ । तर, आगलागी भएको ठाउँमा पानीको स्रोत नभेटिदा समस्या हुने गरेको बताउँछन् फायर म्यान नरेन्द्र सिंह । ‘यहाँ त पानीका लागि समस्या छैन तत्कालै आएर पानी भर्न सकिन्छ’, उनले भने, ‘तर पानीका स्रोत नभएका ठाउँमा भने समस्या हुन्छ ।’