तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा ब्यवसायी संघ बाँकेले आगलागी पीडित दुई व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । संघले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर पीडित व्यवसायीलाई नगर सहयोग गरेको हो ।
संघले नेपालगन्जको न्यूरोडमा आगलागीका कारण ठूलो क्षति व्यहोरेका कपडा व्यवसायीहरु महेश गौतम र गिता कुमारी थापालाई आर्थिक सहयोग गरेको हो । संघका अध्यक्ष भीम बहादुर रानाभाले व्यवसायीहरुको पीडामा थोरै भएपनि मल्हम लगाउने प्रयास गरिएको बताएका छन् । संघले पीडित व्यवसायीलाई ४१ हजार १ सय ११ रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो । यसअघि पनि संघले पीडित व्यवसायीहरुलाई आफ्नै पहलमा राहत संकलन गरेर आर्थिक सहयोग गर्दै आएको छ ।
‘आगलागीबाट ठूलो क्षति हुन्छ, त्यो पीडा हामीले थोरै भएपनि शेयर गर्दै आफ्ना सदस्यहरुप्रति एक्यबद्धता जनाउन खोजेका हौ’, अध्यक्ष रानाभाटले भने ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, प्रदेश ५ होटेल ब्यवसायी संघका अध्यक्ष भास्कर काफ्ले, लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका कार्य समिति सदस्यहरु, संघका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरुले पीडित व्यवसायीहरुलाई सहयोग गरेर व्यवसायीहरु बीच एकताको सन्देश दिएको भन्दै प्रशंसा गरेका थिए ।