उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बाँके/बर्दियाको नेतृत्वमा डा. अवनिन्द्रदत्त मिश्र निर्वाचित भएका छन् । शनिबार भएको हिसानको चौथो जिल्ला अधिवेशनले डा. मिश्रलाई आगामी कार्यकालका लागि पुनः सर्वसम्मत निर्वाचित गरेको हो ।
हिसानको उपाध्यक्षमा यम बहादुर रावत, सचिवमा नारायण दत्त उपाध्याय, सहसचिव दिनेश सिग्देल र कोषाध्यक्षमा निर्मल कुमार उपाध्याय निर्वाचित भएका छन् । हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेलले दिएको जानकारी अनुसार, सदस्यहरुमा अर्जुनलाल नेवार, पवन गौतम, दुर्गा थापामगर, सञ्जीव पंगेनी, शशी स्वाँर र गोविन्द सुवेदी निर्वाचित भएका छन् ।
पछिल्लो परिस्थितिलाई गहन विश्लेषण गरी संस्थागत विकास तथा शैक्षिक क्षेत्रको उन्नयनका लागि प्रभावकारी योजना बनाएर अगाडि बढ्ने नवनिर्वाचित डा. मिश्रले दैनिक नेपालगन्जसँग बताएका छन् । बाँके र बर्दियामा २८ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था संगठित भएकोमा अबदेखि सिटिइभिटी अन्तर्गतका विद्यालयहरुलाई संगठित गर्दै अगाडि बढ्ने योजना बनाइएको अध्यक्ष डा. मिश्रको भनाइ छ ।