आज साँझ नेपालगन्ज रंगशालामा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समारोहको भव्यताले मुलुकको खेलकुद स्तर बढ्दै गएको सन्देश दिन खोजिएको छ ।
‘हामी खेलकुदको क्षेत्रमा सक्षम बन्दै गएका छौं भन्ने कुराको सन्देश आठौंको उद्घाटन समारोहले प्रवाह गर्नेछ’, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेसम्मकै भव्य र ऐतिहासिक उद्घाटन समारोह आयोजना तयारी भैरहेको छ ।’
सदस्य सचिव विष्टका अनुसार, नेपालगन्ज रंगशाला आज साढे ५ बजेदेखि पूर्ण रुपमा बन्द गरिनेछ । त्यसअघि ५ बजेसम्म सर्वसाधारण, खेलाडी, अफिसियल, साढे ५ बजेसम्म अतिथि गण र पौने ६ बजे राष्ट्रपति भण्डारी समारोह स्थल प्रवेश गर्ने कार्यक्रम छ ।
आठौं राष्ट्रिय खेलकुद समारोह उपसमितिका संयोजक विनोद मैनालीका अनुसार, उद्घाटनका क्रममा गरिने आतिशबाजीका लागि एक ट्रक सामाग्री झिकाइएको छ । समारोहको भव्यताका लागि काठमाडौंबाट फुल मगाइएको छ । ‘सेना, प्रहरी, विद्यार्थी तथा खेलाडीहरुले मार्च पास गर्नेछन्’, मैनालीले दैनिक नेपालगन्जसँग भने, ‘प्रदेश ५ को मौलिकता झल्कने गरी साँस्कृतिक प्रस्तुतिहरु गरिनेछन् ।’
राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा पहिलो पटक सिआरपी लाइटको प्रयोग गरिंदैछ । ‘अन्तर्राष्ट्रिय मञ्चमा गरिने प्रयोगलाई यसपटक हामी नेपालगन्जमा गर्दैछौं’, राखेपका सदस्य समेत रहेका मैनालीले भने, ‘रंगशाला परिसरमा एक सय घडा फुल सहित सजाइँदैछ ।’ त्यसका लागि विज्ञहरुको टोली परिचालित रहेको मैनालीले जानकारी दिए ।
आठौं राष्ट्रिय खेलकुद प्रचार उपसमितिका रोहित दाहालका अनुसार, देशका झण्डै एक सय सञ्चारमाध्यमबाट सञ्चारकर्मीहरु नेपालगन्ज आइपुगेका छन् । नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारणका लागि ओभी भ्यान सहितको प्राविधिक टोली नेपालगन्ज रंगशालामा पुर्याइसकेको एनटिभी कोहलपुर प्रसारण केन्द्रका प्रमुख विजय बर्माले जानकारी दिए ।
‘स्थानीय टेलिभिजन, एफएम, रेडियो, अनलाइनबाट प्रत्यक्ष प्रसारणको सुविधा उपलब्ध गराइएको छ’, राखेपका प्रेस सल्लाहकार समेत रहेका प्रचार प्रमुख दाहालले दैनिक नेपालगन्जसँग भने, ‘आठौंको उद्घाटनसँगै नेपालगन्जलाई विश्वले हेर्नेछ ।’ उनका अनुसार, भारतीय पत्रकार समेत उल्लेख्य संख्यामा नेपालगन्ज आइपुगेका छन् ।
‘सीमित साधन स्रोत र रंगशालाको क्षमताको कारणले उद्घाटनमा धेरैलाई प्रवेश सम्भव भएन’, उद्घाटनको भव्यता हेर्नका लागि स्थानीयबासीलाई चाहेजति सहभागी बनाउन नसकेको प्रति चिन्ता व्यक्त गर्दै राखेप सदस्य सचिव विष्टले भने, ‘यथासम्भव सहजताका लागि पहल र प्रयास भैरहेको छ ।’ विष्टका अनुसार, १० हजार दर्शक क्षमताको नेपालगन्ज रंगशालामा ५ हजार खेलाडी अफिसियल आमन्त्रित सहित थप ५ हजारलाई मात्रै प्रवेश सम्भव छ ।
आयोजनाको भव्यताका लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय खेलकुद मन्त्री जगत विश्वकर्मा, प्रदेश कृषिमन्त्री आरती पौडेल, विभिन्न सांसदहरु, खेल पदाधिकारीहरु बुधबार नै नेपालगन्ज आइसकेका छन् । त्यससँगै नेपालगन्जको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘सम्पूर्ण रुपमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले भने ।
राष्ट्रपतिको आगमन हुने भएकाले रंगशाला वरिपरि विशेष र सिङ्गो सहरलाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै राष्ट्रिय अनुसन्धानका सदस्यहरुले विभिन्न चरणको सुरक्षा व्यवस्था मिलाएको बताइएको छ ।