आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली नेपालगन्ज आइपुगेका छन् । राष्ट्रिय गौरवको आयोजना सिक्टाको स्थलगत अनुगमन, भेरी बबई डाइभर्सनको ब्रेक थु्र र नेपालगन्जको पहिलो पाँच तारे होटल सोल्टीको समुद्घाटन लगायतका कार्यक्रम लिएर प्रधानमन्त्री ओली नेपालगन्ज आउनु भएको हो ।
आज प्रधानमन्त्री ओली झण्डै ६ घण्टा बाँकेमा रहनेछन् । औपचारिक राजनीतिक कार्यक्रम नभएपनि प्रधानमन्त्री ओलीको स्वागतको सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरु नेपालगन्ज विमानस्थल पुगेका छन् ।
त्यस्तै, आठौं राष्ट्रिय खेलकुदको औपचारिक समारोह उद्घाटनका लागि पर्सी राष्ट्रपति भण्डारी नेपालगन्ज आइपुग्ने कार्यक्रम छ । नेपालगन्जमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाउन सोमबार सुरक्षा समितिको बैठक बसेको छ ।
‘भीभीआइपीहरुको आगमन हुने भएपछि सुरक्षा योजना बनाउन जिल्ला सुरक्षा समितिको बैठक बसेको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले दैनिक नेपालगन्जसँग भने, ‘सुरक्षाका आवश्यक रणनीतिक योजनाहरु तय गरिएका छन् ।’ उनका अनुसार भोलि बुधबार पनि जिल्ला सुरक्षा समितिको विशेष बैठक बस्दैछ ।
राष्ट्रपति कार्यालयबाट समेत सुरक्षा अधिकारीहरु आइतबार नेपालगन्ज आइपुगेका छन् । नेपाली सेनाका मेजरको कमाण्डमा सेनाको विशेष टोली र नेपाल प्रहरीका अधिकृत सहितको अर्को टोली राष्ट्रपति कार्यालयबाट सुरक्षा अवस्थाको जायजा लिन नेपालगन्ज आइपुगेको हो । सुरक्षा स्रोतका अनुसार, उनीहरुले खासगरी मुख्य आयोजना स्थल नेपालगन्ज रंगशाला र राष्ट्रपतिको कारगेट रुटको सुरक्षा अवस्था नजिकबाट अवलोकन गर्दै आवश्यक सुरक्षा व्यवस्था परिचालन गर्ने योजना बनाएको छ ।